इंग्लिस क्लब म्यानचेस्टर सिटीका नर्वेजियन स्ट्राइकर इर्लिङ हाल्यान्डलाई क्लबमा भित्र्याएको छ।
जर्मन क्लब बोरूसिया डर्टमन्डबाट सिजनमा खेलिरहेका २१ वर्षीया हाल्यान्ड ६० मिलियन युरोमा क्लबमा भित्रिएका हुन्। उनी आगामी जुलाईदेखि सिटीबाट खेल्नेछन्।
डर्टमन्डबाट तीन सिजन खेल्दा उनले ८८ खेलमा ८५ गोल गरेका छन्।
सन् २०१९ को डिसेम्बरमा रेड बुल सार्ल्जबर्गबाट डर्टमन्डमा आबद्ध भएपछि उनले ८५ खेलमा ८२ गोल गरेका छन्।
त्यसअघि सन् २०१९ को सिजनको सुरूवातमा उनले साल्जवर्गका लागि २२ खेलबाट २८ गोल गरेका थिए। जसमा पाँच ह्याट्रिक समावेश थिए।
उनले डर्टमुन्डबाट डेब्यू खेलमै उनले ह्याट्रिक गरेर सनसनी मच्चाएका थिए। त्यो पनि पहिलो रोजाइमा खेलेर होइन सब्स्टिच्युट खेलाडीको रुपमा मैदान छिरेर।
हाल्यान्डले एफसी अग्सवर्गविरुद्धको खेलमा दोस्रो हाफमा मैदान छिरेर ह्याट्रिक गरेका थिए। ५६ मिनेटमा मैदान छिरेका उनले २३ मिनेट भित्र ह्याट्रिक पूरा गरे। उनी मैदान छिर्दा डर्टमुन्ड ३-१ ले पछि परेको स्थिति थियो। तर उनको ह्याट्रिकसँगै डर्टमुन्डले खेल ५–३ ले जित्यो।
अस्ट्रियन क्लब साल्जवर्गका लागि खेल्दा उनले च्याम्पियन्स लिगमा पनि ह्याट्रिक गरेका थिए।
त्यसपछि हाल्यान्डलाई भित्र्याउन इटालियन क्लब युभेन्ट्स र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पनि चासो देखाएका थिए। किनकी उनले सो सिजनको च्याम्पियन्स लिगको समूह चरणमा ८ गोल गरेका थिए। जुन गोल समूह चरणको व्यक्तिगत दोस्रो बढी हो।
युभेन्ट्स र म्यानचेस्टरलाई पछि पारेर डर्टमुन्ड उनलाई भित्र्याउन सफल भयो। अझै उनको माग विश्व फुटबल बजारमा बढिरहेको छ।
इंग्ल्यान्डको लिड्समा २००० मा जन्मिएका उनले नर्वेजिन क्लब ब्रेन एफकेबाट युवा उमेरमा फुटबल खेलेका थिए।
उनका बुबा अल्फ इन्गे हाल्यान्ड पनि नर्वेका पूर्व खेलाडी हुन्। उनले नर्वेका क्लबबाट व्यवसायिक खेल खेलेपछि सन् १९९७ देखि २००० सम्म लिड्स युनाइटेडबाट खेलेका थिए। त्यसपछि उनी २००० मा छोरा हल्यान्ड जन्मिएकै वर्ष म्यानचेस्टर सिटीमा आबद्ध भए। त्यहाँ उनले तीन सिजन बिताए। उनले सन् २०१२ सम्म फुटबल खेले। नर्वेबाट उनले १९९४ देखि २००१ सम्म खेल्दा ३४ क्याप जिते।
बुबाले फुटबल खेल्न छाडेको तीन वर्षपछि छोरा हाल्यान्ड सन् २०१५ मा नर्वेको ब्रेन एफकेको एकेडेमीमा भर्ना भए। त्यहाँ दुई सिजन खेलेपछि उनी सन् २०१७ मा नर्वेको पहिलो डिभिजनको क्लब मोल्डेमा आबद्ध भए। उनले मोल्डेमा ३९ खेलमा १४ गोल गरे।
तीन वर्षअघि अस्ट्रियन क्लब साल्जबर्गमा आबद्ध भएपछि हल्यान्ड चर्चित बन्न पुगे। उनले सिजनको सुरुवाती पाँच महिनामा १६ खेलमा १७ गोल गरेका थिए