केभिन डि ब्रुएनाले चार गोल गरेपछि म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ। सिटीले वल्भ्समाथि उसकै मैदानमा ५–१ को फराकिलो अन्तरमा हरायो।
सिटीका लागि थप एक गोल रहिम स्टर्लिङले गरे। वल्भ्सका लिन्डर डेन्डनकरले सान्तवना गोल फोर्काए।
वल्भरह्याम्टनमा बुधबार राति भएको खेलको सातौं मिनेटमा केभिन डि ब्रुएनाको गोल गर्दै सिटीलाई सुरूआती अग्रता दिलाए। ११औं मिनेटमा घरेलु टोलीका लागि लिन्डर डेन्डनकरले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
तर त्यसको पाँच मिनेटपछि ब्रुएनाले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई पुनः २–१ ले अघि बढाए। २४औं मिनेटमा ब्रुएनाले ह्याट्रिक पुरा गरेपछि सिटी पहिलो हाफमा ३–१ ले अघि बढ्यो।
पहिलो हाफमै ३–१ को अग्रता लिएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्यो।
६०औं मिनेटमा ब्रुएनाले व्यक्तिगत र टोलीका लागि चौथो गोल गरे। ८४औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै सिटीलाई ५–१ को सानदार जित दिलाए ।
यो जितसँगै उपाधि नजिक रहेको सिटीको ३६ खेलबाट ८९ अंक पुगेको छ। उसले दोस्रो स्थानको लिभरपुललाई पुनः ३ अंकले पछि पारेको छ। पराजित वल्भ्स ५० अंक जोडेर आठौं स्थानमा झरेको छ।