विश्व फुटबलको सर्वोच्च निकाय फिफाको १० वर्षको प्रतिबन्धमा परेका एन्फाका पूर्वअध्यक्ष गणेश थापाले फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुन नहुने बताएको छ।
एन्फाले आफ्नो आधिकारीक वेव पोर्टलमा फिफाले पठाएको पत्रको आधारमा समाचार पोस्ट गरेको छ।
यसअघि पूर्वअध्यक्ष थापाले घरेलु फुटबलमा आफूमाथि लागेकोआरोप पुष्टि गर्न चुनौती दिएका थिए।
यो पनि : आठ वर्षअघि लगाएका आरोप पुष्टि गर्न एन्फा अध्यक्ष शेर्पालाई गणेश थापाको चुनौती
लगत्तै एन्फाले थापाले फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुन नहुने विषयमा फिफाको भनाइ उधृत गर्दै सचेत गराएर समाचार पोस्ट गरेको हो।
एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई लेखेको पत्रमा फिफाका केनी जीन मारी र एएफसीका उपमहासचिव वाहिद कर्दनीले एन्फालाई पूर्व अध्यक्ष थापामाथि लगाइएको प्रतिबन्धको स्मरण गराएको एन्फाको भनाइ छ।
'जबसम्म प्रतिबन्ध कायम रहन्छ, एन्फा र यसका सदस्यहरूले गणेश थापालाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तर (प्रशासनिक, खेलकुद वा अन्य) कुनै पनि प्रकारको फुटबल सम्बन्धी गतिविधिमा संलग्न हुन जानीजानी अनुमति नदिने अपेक्षा गर्दछ,' पत्र उधृत गर्दै एन्फाले लेखेको छ।
थापाले फिफाको निर्णय उल्लंघन गरेमा थप कारबाहीका लागि फिफा अनुशासन समितिमा रिपोर्ट गर्न भनिएको एन्फाको भनाइ छ।
सन् २०१५ मा फिफा एथिक्स कमिटीको न्यायिक चेम्बरले थापालाई उपहार तथा अन्य सुविधा दिने र लिने, घुसखोरी र भ्रष्टाचार गरेको आरोपमा १० वर्षको प्रतिबन्ध तोकेको थियो।
उनलाई दश वर्षको अवधिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा (प्रशासनिक, खेलकुद वा अन्य) कुनै पनि प्रकारको फुटबल सम्बन्धी गतिविधिमा भाग लिन प्रतिबन्ध लगाइएको थियो र २०,००० स्विस फ्रान्क जरिवाना तिर्न पनि आदेश दिइएको थियो।