रोहित चन्द इन्डोनेसियन क्लब पेर्सिक केडिरीमा आबद्ध भएका छन्।
इन्डोनेसियन फुटबलको शीर्ष डिभिजनको क्लब पेर्सिकले रोहितसँग सम्झौता गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ।
यसअघि आक्रामक मिडफिल्डर रोहितले अर्को इन्डोनेसियन क्लब पेर्सिजा जाकर्तासँगको सम्झौता सकिएसँगै क्लबलाई धन्यवाद दिएका थिए।
यो सिजनदेखि पेर्सिजासँग सम्झौता सकिएपछि रोहित अर्को क्लब पेर्सिकमा आबद्ध भएका हुन्।
रोहित पेर्सिजा जाकर्ताको अनुभवी खेलाडी मध्ये एक थिए।
पहिलो पटक सन् २०१३ मा पेर्सिजनामा आबद्ध भएका नेपाली मिडफिल्डर रोहितले दुई सिजनअघि क्लबका लागि सय खेल पूरा गरेका थिए।
रोहितले पेर्सिजाबाट खेल्दा सन् २०१८ को लिग वानको उपाधि, २०१८ को प्रेसिडेन्सियल कप र २०२१ को मेन्पोरा कप जितेका थिए।
यस्तै सन् २०१८ मा रोहित लिग वानका सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए। यस्तै सो सिजन उनी लिगको उत्कृष्ट ११ खेलाडीभित्र परेका थिए।