कर्माछिरिङ शेर्पाले आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
शेर्पा अघिल्लो निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए। उनले दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
अध्यक्षका लागि शेर्पाको उम्मेदवारीमा मछिन्द्र फुटबल क्लबका सुनिल कपालीले प्रस्तावक र रुपन्देही जिल्ला फुटबल संघका लोकबहादुर पुनले समर्थका छन्।
शेर्पाको प्यानलले एन्फा कम्प्लेक्सस्थित एन्फा निर्वाचन कार्यालयमा पनि उम्मेदवारी दर्ता गराएको छ।
वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा, दीर्घबहादुर केसी र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन्।
त्यसैगरी सदस्यमा दीपक थापा, प्रविण यादव, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, रामराजा गुरुङ, टीकाराम लामा, प्रदेशसिंह राठौर, भरत बुढा थापा, अनिल श्रेष्ठ, रमेश व्यञ्जनकार, मणिराज विष्ट र मनिष जोशीले उम्मेदवारी दिएका छन्।
यसअघि अध्यक्षमा पंकजविक्रम नेम्बाङले उम्मेदवरी दर्ता गराइसकेका छन्। उनी हाल एन्फाका वरिष्ठ उपाध्यक्ष हुन्।