जेठ २५ गतेदेखि कुवेतमा आयोजना हुने एएफसी एसिया कप २०२३ को तेस्रो चरण छनोटमा नवयुग श्रेष्ठले नेपाली टिमको कप्तानी गर्ने भएका छन्।
तयारीका लागि कतार जानुअघि उनलाई कप्तान नियुक्त गरिएको हो। यसअघि नियमित कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूबिनै नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरिएको थियो।
नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शुक्रबार नियमित कप्तान तथा गोलकिपर किरण बिना नै २३ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेका थिए।
पछिल्लो समय मुख्य प्रशिक्षक र खेलाडीबीचको विवादमा किरणले साथ दिएका थिए। उनी हाल माल्दिभ्समा व्यवसायिक खेल खेलिरहेका छन्।
यसअघि प्रशिक्षक अलमुताइरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रोहित चन्द, विशाल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, सुमन लामा, तेज तामाङ, अनन्त तामाङ, विमल घर्तिमगर, अन्जन विष्ट र सुजल श्रेष्ठले राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका थिए।
उनीहरू पनि राष्ट्रिय टिममा छैनन्।
यसअघि शुक्रबार विवाद छानविन गर्न गठित कार्यदलले एसिया कप छनोटपछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको विकल्प खोज्न सिफारिस गरेको थियो।
यस्तै खेलाडीलाई एसिया कप छनोटमा टिममा नराख्न भनिएको थियो।
होटलको विषयमा विवाद भएपछि प्रशिक्षक अलमुताइरीले होटल छोड्ने निर्देशन दिएको भन्दै खेलाडीहरुले बन्द प्रशिक्षण छोडेका थिए ।
यसपटक घोषणा भएको राष्ट्रिय टोलीमा चार नयाँ अनुहारले स्थान बनाएका छन्।
रक्षक विकास तामाङ र शिव गुरुङसँगै मिडफिल्डर निरकुमार राई र रोशन रानामगरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
नेपालले आगामी जेठ ११ र जेठ १५ मा अफगानिस्तानसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तय भए पनि रद्द भएको छ। नेपालले एसियन कपको छनोटअघि खेल्न लागेको यो खेल कतारमा हुने तय थियोे।
एसियन कप छनोटमा नेपाल कठिन समूहमा छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया छन्। समूहको शीर्ष टिम एसियन कपमा छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि सम्भावना हुनेछ।
नेपाल सम्मिलित समूहका खेल कुवेतमा हुनेछन्। खेलहरू जेठ २५ मा सुरु भएर जेठ ३१ मा सकिनेछन्।
नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग २५ जेठमा कुवेत सिटीमा प्रतिस्पर्धा गर्नेछ। यस्तै नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाली टिम
गोलकिपर : दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
डिफेन्डर : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डर : आकास बुढामगर, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुनील बल, सुरज ज्यु ठकुरी
फरवार्ड : आयुष घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ