आधुनिक फुटबलमा कुनै पनि फुटबल ब्यवस्थापकको जागिर स्थीर छैन। कुन बेला जागिरबाट हात धुनु पर्ने हो अनुमान लगाउन निकै कठिन हुन्छ। प्रशिक्षकलाई लिएर प्राय भने गरिन्छ प्रशिक्षकको नियुक्ति नै बर्खास्तीका लागि हो। फुटबल जगतमा धेरै सफल ब्यवस्थापकहरू समेत बर्खास्तीमा परेका छन्।
जोसे मोउरिन्होमात्र कसरी अपवाद बन्न सक्छन्। विवाद, तनाव तथा नतिजामा विश्वास गर्ने जोसेलाई फुटबल खेलको रक्षात्मक विशेषज्ञ नै मानिन्छ। आलोचकहरू भने पार्किंग बसको उपनामले ब्यंग्य गर्छन्। मोउरिन्हो स्वयम् भने विवादमा रमाउने तनाबमा बाँच्ने तथा नतिजामा विश्वास गर्ने गर्छन्।
मोउरिन्होको जन्म २६ जनवरी १९६३ मा पोर्चुगलमा भएको थियो। उनका बुवा पोर्चुगिज गोलकिपर जोसे फेलिक्स थिए। त्यसैको प्रभावले हुनसक्छ जोसे मोउरिन्होले आफ्नै पिताको बाटो समाते। फुटबलरका रूपमा आफ्नो यात्रालाई अगाडी बढाए पनि मोउरिन्हो खासै राम्रो खेलाडी भने बन्न सकेनन्। प्रशिक्षकका रूपमा निकै सफल तर एउटा खेलाडीका रूपमा सामान्य।
लिस्बनको प्राविधिक विश्वविद्यालयमा खेलकूद विज्ञान पढे। विद्यालय मै पाँच बर्ष अध्यापनमा बिताए। १९९२ मा उनले स्पोर्टिङ क्लब पोर्चुगलमा काम पाए जहाँ उनको भेट सर बबी रोब्सनसँग भयो। रोब्सनका लागि दोभाषे बने। १९९३ मा जब रब्सन पोर्टोमा गए मोउरिन्हो रब्सनको असिस्टेटका रूपमा काम गरे। रब्सनले मोउरिन्होको निकै विश्वास गर्न थाले भने युवा मोउरिन्होले रब्सनबाटै धेरै शिक्षित हुने अवसर प्राप्त गरे। दुबैको सम्बन्ध निकै सुमधुर थियो।
रब्सन जब १९९६ मा बार्सिलोना गए। मोउरिन्होले उनलाई पछ्याइ रहे। सँगै बार्सिलोना गए जहाँ उनलाई क्याटालान संस्कृती र भाषाको राम्रो ज्ञान भयो। जब रब्सनले बार्सिलोना छोडे डच प्रशिक्षक लुइस भान गाल क्याटालान क्लबको नयाँ प्रशिक्षक नियुक्त भए। दुइ बर्ष भान गालसँग सफलतापूर्वक काम गरेका मोउरिन्होलाई बि टिमको जिम्मा दिइयो। केही खेलहरूमा बार्सिलोनाको ए टिमको समेत प्रशिक्षक हुने अवसर मिल्यो।
जब बार्सिलोना छाडेर बेनिफिका पुगे तब मोउरिन्होले भनेका थिए। ”म बार्सिलोनाको दर्शनबाट प्रभावित भए। चार बर्षको बार्सिलोना बसाई मेरो जीवन कै फड्को हो। ”
बेनिफिकामा उनको बसाई अल्पकालिक भयो। २००१ मा उनी उनियाओ डेराको लागि गए जहाँ धेरै सुधार गरे। एउटा सफल प्रशिक्षकको रूपमा जीवन कै ट्रेनिंग प्वाइन्ट भने २००२ मा एफसी पोर्टोमा आवद्ध भए पछि भयो। आक्रामक नविन विधिहरू प्रयोग गरेर पोर्टोलाई सफलताको शिखर चढाए।
२००४ को च्याम्पिन्स लिगको फाइनलमा मोनाको विरूद्ध ३ सुन्यको जितले वास्तविक मोउरिन्होको जित थियो। आधुनिक व्यवसायीक फुटबलका सफल हस्ताक्षर बनेर उदाए मोउरिन्हो।
प्रभावशाली उपलब्धिका कारण मोउरिन्हो माथि विश्वका शक्तिशाली क्लबहरूले आँखा लगाइ सकेका थिए। युवा रसियन तेल ब्यापारी रोमन इब्रामोविचले लण्डन क्लब चेल्सी खरिद गरिसकेका थिए। उनी लण्डन क्लबमा क्रान्ति ल्याउन चाहन्थे। ट्रान्सफर मार्केटमा अभूतपूर्व छलाङ लगाँउदै बार्षिक ५० मिलियन पाउण्ड भन्दा धेरै कमाउने प्रशिक्षकका रूपमा मोउरिन्होले चेल्सीसँग सम्झौता गरे। उनले चेल्सीलाई २००५ तथा २००६ मा घरेलु लिगको उपाधि जिताए। अंग्रेजी प्रेससँग मोउरिन्होको सम्बन्ध निकै तल माथि थियो। मनोरन्जन वा विवाद दुबैमा उनी चर्चामा रहे। पछि इब्राइमोविचसँग सम्बन्ध केही असहज भयो जसका कारण चेल्सी छाडे।
२००८ मा इटालिन इन्टर मिलान गए। २०१० मा इन्टरलाई सिरिए, इटालियन कप तथा च्याम्पियन्स लिग जिताए। इंग्ल्यान्डमा जस्तै इटालीमा पनि उनको पत्रकार तथा अन्य कोचहरू संग आवेग पुर्ण सम्बन्ध थियो।
२०१० मा मोउरिन्हो रियल म्याड्रिड गए। जुनबेला स्पेनमा बार्सिलोनाको दबदबा थियो। पहिलो सिजन निकै कठिन थियो। २०११/२०१२ मा स्पेनिस ला लिगा जिते। बार्सिलोनासँग राम्रो सम्बन्ध भएका मोउरिन्हो रियल म्याड्रिड गइसके पछि मैदान व मैदान बाहिर निकै विवादमा परे।
स्पेनिस खेलाडीहरूलाई एक आपसका विरूद्ध उक्साएको आरोप समेत लाग्यो। उनी आलोचनाको घेरामा बाँधिए। भन्ने गरिन्छ जितको अलावा आलोचना, विवाद तथा तनावमा मोउरिन्हो रमाउने गर्छन्। फुटबल एउटा व्यवसाय थियो, जोसे आफ्नो काम गरिरहेका थिए। तर लामो समय रियलमा टिक्न सकेनन्। रियल म्याड्रिडबाट बर्खास्त भए।
धेरैको अनुमान थियो, २०१३ को सिजनको अन्त्यमा एलेक्स फर्गुन्सनले म्यानचेस्टर युनाइटेड छाडेसँगै मोउरिन्हो क्लबमा आबद्ध हुनेछन्। तर मोउरिन्होले आफ्नो पूर्व क्लब चेल्सी रोजे। जहाँ उनको भावनात्मक सम्बन्ध थियो हार या जित दुवैमा चेल्सी समर्थकहरूले साथ दिइ रहे। चेल्सी सम्हालेको दोश्रो सिजन मै प्रिमियर लिग तथा लिग कप जिताए। चार बर्षको सम्झौता गरे पनि २०१५ मा क्लबले खराब प्रदर्शन गर्दा मोउरिन्हो बर्खास्तमा परे।
कुनै बेला ‘सपनाको काम’ भन्ने मोउरिन्हो म्यानचेस्टर युनाइटेडका ब्यवस्थापक बने। २७ मे २०१६ मा तीन बर्षको सम्झौतामा हस्ताक्षर गरेर आफ्नो डेब्यु सिजन मै इएफएल कप तथा युरोपा लिग जित्ने पहिलो म्यानेजर वने। २०१८ मा खराब प्रदर्शनका कारण फेरि बर्खास्तमा परे।
२०१९ मा अर्को इंग्लिस क्लब टोटेनहामको प्रशिक्षक नियुक्त भए। १७ महिना मै बर्खास्त भए उनको टोटेनहाम बसाई सुखद रहेन।
अहिले मोउरिन्हो इटालियन क्लब एस रोमाका प्रशिक्षक छन्। अमेरिकन ब्यापारी डान फ्रेडकिनलेको विश्वास मोउरिन्होप्रति देखिन्छ। सुखद पक्ष रोमाका लागि मोउरिन्होले उपाधि जितिसकेका छन्। कन्फेरेन्स लिगको पहिलो संस्करणको उपाधि भिडन्तमा रोमाले डच क्लब फेएनर्डलाई १–० ले हराउँदै उपाधि जितेको थियो। उपाधि जितेसँगै पोर्चुगलका प्रशिक्षक मोउरिन्होका नाममा नयाँ रेकर्ड बनेको छ। कन्फेरेन्स लिगको उपाधि जित्नु उनका लागि विशेष भयो।
जब टिम च्याम्पियन बन्यो, मोउरिन्होले खुसीको आँसु थाम्न सकेनन्।
आफ्ना सहकर्मीका साथ खेलाडीसँग रुँदै अंकमाल गरे। नयाँ रेकर्ड र उपाधिको सेलिब्रेसन गरे। यो उपाधि जित्दा उनका नाममा एकसाथ दुई रेकर्ड बनेका छन्। पहिलो मोउरिन्हो अब युरोपमा शीर्ष तीन प्रतियोगिता जित्ने पहिलो प्रशिक्षक बनेका छन्। दोश्रो युरोपमा शीर्ष प्रतियोगिता सर्वाधिक ५ पटक फाइनल पुग्ने र ५ पटक नै उपाधि जित्ने उनी नै पहिलो प्रशिक्षक बनेका छन्।
रोमासँग ३ वर्षको सम्झौता गरेका मोउरिन्होको रोमा यात्रा सफल भैसकेको छ। ११ बर्ष पछि इटाली फर्किएका मोउरिन्होलाई धेरैले बाघका आँखा भन्ने गर्छन्। मिलानमा जस्तै उनका सफताका कथाहरू रोमामा लेखिसकेका छन्।
मोउरिन्हो आफनो कोचिङ करिअरमा युईएफए अन्तर्गतका ठूला प्रतियोगिता जम्मा पाँचपटक टिमलाई फाइनलसम्म पुराएका छन्। र, पाँचपटक नै उपाधि जिताएका छन्।
युरोपका शीर्ष प्रतियोगितामा ५ पटक फाइनल पुग्ने र ५ वटै उपाधि जित्ने उनी नै पहिलो प्रशिक्षक हुन्। उनले च्याम्पियन्स लिगमा दुईपटक, युरोपा लिगमा दुईपटक र कन्फ्रेन्स लिगमा एकपटक गरी पाँचपटक युरोपियन शीर्ष प्रतियोगितमा फाइनल पुगेर पाँचपटक नै उपाधि जिताएका छन्।
एउटा कुरा भने पक्का छ कि उनी परिवर्तन हुने छैनन्। उनको एउटा भनाईले अझ यसमा बल पुर्याउँछ।
‘भगवानले सोच्नु पर्ने छ कि म महान् मान्छे हुँ।‘
आफू अहंकारी भएको मान्न तयार नहुने। आफूले बोलेको नै सत्य ठान्ने ब्यक्ति पनि हुन् जोसे।
स्वादमा भन्दा परिणाममा विश्वास गर्ने। ठोस र रक्षात्मक रणनीति रोज्ने। त्यसो त यिनको रणनीतिलाई क्रुर मान्नेहरू पनि छन्। फुटबलमा कोही शैतान छैन। फुटबलमा कोही क्रुर छैन।
पोर्चुगल, स्पेन, इटाली अनि इंग्ल्यान्डका घरेलू लिग। पोर्टो तथा मिलानबाट च्याम्पियन्स लिग। परिचय बनेको छ मोउरिन्होका आँखामा बाघको दृष्टि छ।