एसियाली फुटबल महासंघ (एएफसी) र अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको समन्वयमा शेल्टर आश्रय नेपालले जेल फुटबल, फुटबल थ्रु रिह्याबिलिटेशन कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमबारे जानकारी दिइएको हो।
एन्फाका महासचिव इन्द्रमान तुलाधर र शेल्टर आश्रय नेपालका अध्यक्ष खुस्बु ओलीले समझदारीपत्र आदानप्रदान गरेका थिए।
फुटबलका माध्यमबाट कैदीबन्दीको क्षमता अभिवृद्धि गर्ने उद्देश्य रहेको ओलीले बताइन्। यो कार्यक्रम केन्द्रीय कारागारमा सञ्चालन गरिने जनाइएको छ।
‘हामीले खेलाडी, रेफ्री र प्रशिक्षक शिक्षा कार्यक्रम ल्याइरहेका छौं र बन्दीहरूको आत्मविश्वास बढाउन मद्दत गर्दछौं। यसले उनीहरूको मानसिक स्वास्थ्यमा पनि मद्दत गर्दछ र समाजको सुधारका लागि काम गर्ने इच्छा विकास गर्दछ, ’ ओलीले भनिन्।
यस कार्यक्रमले एक वर्षमा दुई चरणमा ४८ खेलाडी र ३२ जना रेफ्री तथा प्रशिक्षकलाई तालिम दिने लक्ष्य राखेको छ। जुन ५ देखि नोभेम्बर ३० सम्म हुने पहिलो चरणमा २४ जना खेलाडी तथा १६-१६ जना रेफ्री र प्रशिक्षक तयार हुनेछन् ।
दोस्रो चरण डिसेम्बर १ देखि मे २०२३ सम्म सञ्चालन हुनेछ। प्रशिक्षकहरूले डी लाइसेन्स प्राप्त गर्नेछन्, रेफ्रीहरूले श्रेणी चौथो प्रमाणपत्र प्राप्त गर्नेछन् र खेलाडीहरूले पाठ्यक्रम पूरा गरेपछि प्रमाणपत्र प्राप्त गर्नेछन्।