आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मताधिकार पाएका ४ जना जनाको नाम कटौती गरिएको छ।
एन्फा निर्वाचन समितिले आज साँझ प्रकासित गरेको अन्तिम मतदाता नामावलीमा ८१ जनाले मात्र मतधिकार पाउने उल्लेख छ। बुधबार चार जनाको नाम दाबी विरोधपछि अयोग्य ठहर गरिएको छ। यसअघि नै दुई जिल्ला मताधिकारबाट बन्चित भएका थिए।
निर्वाचन समितिका अनुसार सिराहा जिल्ला फुटबल संघको मताधिकार पाएका प्रविणकुमार यादवको नाम दाबी विरोधपछि हटाइएको छ।
यस्तै फ्रेन्ड्स क्लबको मताधिकार पाएका दीपक थापा, सरस्वती युवा क्लबको मताधिकार पाएका उत्तम भण्डारी र महिला संघको मताधिकार पाएकी विना श्रेष्ठको नाम अन्तिम नामावलीमा समावेश छैन। मताधिकार कटौती भएका चारै जना एन्फा अध्यक्षका प्रत्यसी कर्माछिरिङ शेर्पा निकट हुन्।
चारै जनाले पुनरावेदन गर्न सक्ने निर्वाचन समितिले जनाएको छ।
एन्फाको जिम्मेवारीमा रहेका फ्रेन्ड्सका दीपक र सरस्वतीका उत्तमले मताधिकार लिएको भन्दै उजुरी परेको थियो।
यस्तै सिराहाको मताधिकार पाएका प्रविणकुमार यादव एन्फा केन्द्रीय कार्यसमितिको सदस्य भएको भन्दै उजुरी परेको थियो।
महिला संघमा यसअघि पेमा डोल्मा लामालाई मताधिकार दिएको र विना श्रेष्ठलाई प्रतिनिधिको रुपमा पठाउने निर्णय गरिएको थियो। तर किर्ते गरि विनालाई मताधिकार र सरस्वती श्रेष्ठलाई प्रतिनिधिका रुपमा पठाएको भन्दै उजुरी परेको थियो।
अन्तिम नामावली
यता सिन्धुली जिल्ला फुटबल संघले मताधिकार पाउन गरेको निवेदनमा निर्वाचनमा समितिले पहिलाकै निर्णय सदर गरेको छ। सिन्धुलीको यसअघि नै मताधिकार कायम भएको थिएन। सिन्धुलीसँगै भक्तपुर पनि मताधिकारबाट बन्चित भएको थियो।
स्याङ्जा जिल्ला फुटबल संघको मतिधकार पनि उजुरी परेको थियो। कैलालीको स्टार सिटी क्लब तथा मनकामना क्लबले जिल्ला र केन्द्रको दुवै निर्वाचनमा मताधिकार पाएको भन्दै निर्वाचन समितिमा उजुरी दर्ता भएको थियो। बाँसबारी क्लब र सुर्खेत जिल्ला फुटबलको मताधिकारमा पनि उजुरी परेका थिए। तर उल्लेखित सबै उजुरीमा दाबी नपुगेपछि मताधिकार कायम गरिएको छ।
एन्फाको २१ सदस्यीय कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी छ।
निर्वाचनमार्फत् एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, १३ केन्द्रीय सदस्य र दुई महिला सहित २१ जना सदस्यको चयन गर्नेछ।
अध्यक्षकाका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम र राजिव पौडेलले उम्मेदवारी छ।
वरिष्ठ उपाध्यक्षमा शेर्पा प्यानलबाटशिक्षित पराजुली र नेम्बाङ प्यानलबाट वीरबहादुर खड्काको उम्मेदवारी छ।
४ उपाध्यक्ष पदमा शेर्पा प्यानलबाट कुमार केसी, विज्ञानराज शर्मा, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठ छन्।
नेम्बाङ प्यानलबाट विराटजंग शाही, सुन्दरनरसिंह जोशी, दावा लामा र दीपक खतिवडा छन्।
निर्वाचनमा ४५ जिल्ला, १४ ए डिभिजन क्लब, ११ बी डिभिजन क्लब, ९ सी डिभिजन क्लब, राष्ट्रिय लिगमा छनोट भएका मोफसलका चार क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला संघ र रेफ्री संघ गरी ८७ भोटर हुने व्यवस्था भए पनि अन्तिम नामावलीअनुसार अब ८१ जनाले मात्र भोट हाल्न पाउनेछन्।