आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवार बनेका दुई जनाको उम्मेदवारी खारेज भएको छ।
एन्फा निर्वाचन समितिका अनुसार सदस्य पदमा उम्मेदवारी दिएका सप्तरीका रेमशकुमार श्रेष्ठ र बाराका शम्भुसिंह ठकुरीको उम्मेदवारी खारेज भएको हो।
दुवै जनाले गत जेठ १२ का लागि तोकिएको अन्तिम दिन उम्मेदवारी दर्ता गराएका थिए। तर उम्मेदवारीबापत तिर्नु पर्ने रकम तिरेर भौचर भने बुझाएका थिएनन्। उनीहरूले त्यहीँ दिन भौचर बुझाउने बताए पनि चार दिनपछि १६ गते भौचर बुझाएका थिए।
एन्फाको निर्वाचनसम्बन्धित विधानमा उम्मेदवार आफै उपस्थित भएर भौचर अनिवार्य बुझाउनु पर्ने उल्लेख छ। जसका कारण एन्फाको इन्ट्रीग्रिटी कमिटीले पनि यो उम्मेदवारीलाई मान्यता दिएन। उनीहरूले अपिल समेत गर्न नमिल्ने निर्वाचन समितिले जनाएको छ।
यसअघि निर्वाचन समितिले बुधबार चार जनाको मताधिकार खारेज गरेको थियो। सिराहा जिल्ला फुटबल संघको मताधिकार पाएका प्रविणकुमार यादव, फ्रेन्ड्स क्लबको मताधिकार पाएका दीपक थापा, सरस्वती युवा क्लबको मताधिकार पाएका उत्तम भण्डारी र महिला संघको मताधिकार पाएकी विना श्रेष्ठको नाम अन्तिम मतदाता नामावलीबाट हटाइएको थियो।
दाबी विरोधको उजुरीको अध्ययनपछि चार जनाको मताधिकार अवैध भएको भन्दै निर्वाचन समितिले उनीहरूको मताधिकार खारेज गरेको थियो। उनीहरूले आजदेखि अपिल कमिटीमा पुनरावेदन गर्न सक्नेछन्। अपिल कमिटीको संयोजकमा अधिवक्ता विष्णु लुइँटेल र सहसंयोजकमा सुधा रिजाल, सदस्यमा केशवमणि अर्याल, वैकल्पिक सदस्यमा यज्ञबहादुर राना र राजेन्द्र इंगनाम रहेका छन्।
अपिलको विषय आगामी जेठ २६ गतेसम्म टुंगाइसक्नु पर्नेछ।
एन्फाको २१ सदस्यीय कार्यसमितिका लागि ५४ जनाको उम्मेदवारी परेको थियो।
निर्वाचनमार्फत् एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, १३ केन्द्रीय सदस्य र दुई महिला सहित २१ जना सदस्यको चयन गर्नेछ।
अध्यक्षकाका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम र राजिव पौडेलले उम्मेदवारी छ।
वरिष्ठ उपाध्यक्षमा शेर्पा प्यानलबाट शिक्षित पराजुली र नेम्बाङ प्यानलबाट वीरबहादुर खड्काको उम्मेदवारी छ।
४ उपाध्यक्ष पदमा शेर्पा प्यानलबाट कुमार केसी, विज्ञानराज शर्मा, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठ छन्।
नेम्बाङ प्यानलबाट विराटजंग शाही, सुन्दरनरसिंह जोशी, दावा लामा र दीपक खतिवडा छन्।
निर्वाचनमा ४५ जिल्ला, १४ ए डिभिजन क्लब, ११ बी डिभिजन क्लब, ९ सी डिभिजन क्लब, राष्ट्रिय लिगमा छनोट भएका मोफसलका चार क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला संघ र रेफ्री संघ गरी ८७ भोटर हुने व्यवस्था भए पनि अन्तिम नामावलीअनुसार अब ८१ जनाले मात्र भोट हाल्न पाउनेछन्।