यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत स्पेन र पोर्चुगलले बराबरी खेल्दै अंक बाँडेका छन् । बिहीबार राति भएको खेलमा स्पेन र पोर्चुगलले १-१ गोलको बराबरी खेलेका छन् ।
सेभिलमा बिहीबार राति भएको खेलमा घरेलु टोली स्पेनका अल्भारो मोराटाले खेलको २५ औं मिनेटमा गोल गर्दै सुरूआती अग्रता दिलाएका थिए।
तर, खेलको ८२ औं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई १-१को बराबरीमा ल्याए।
नियमित कप्तान क्रिस्टियानो रोनाल्डोबिना खेलको सुरूवात गरेको पोर्चुगलविरूद्ध खेलको सुरुवातदेखि नै बल पोजिसेन राख्दै दवाव बढाएको स्पेनले २५ औं मिनेटमा मोराटाको गोलबाट अग्रता लिएको थियो।
तर, स्पेनले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । एक गोलले पछि परेको पोर्चुगलले दोस्रो हाफमा कप्तान रोनाल्डोलाई मैदान छिराएपछि खेलमा पकड बनाउन सफल भएको थियो।
यो बराबरीपछि लिग ए ग्रुप २ मा दुवै टोलीले समान एक अंक जोडेका छन्।
यही समूहको अर्को खेलमा चेक रिपब्लिकले स्वीट्जरल्यान्डलाई २–१ ले हरायो। यो नतिजापछि चेक समूहमा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ। पोर्चुगल दोस्रो तथा स्पेन तेस्रो स्थानमा छ। अंकविहीन स्वीट्जरल्यान्ड पुछारमा छ।