विश्व विजेता फ्रान्स युइएफए नेसन्स लिगमा डेनमार्कसँग स्तब्ध भएको छ।
सुरूवाती अग्रता जोगाउन नसक्दा ए ग्रुप १ को पहिलो राउन्डको खेलमा फ्रान्स घरेलु मैदानमै २–१ गोल अन्तरमा स्तब्ध भएको हो।
पेरिसमा शुक्रबार राति भएको खेलमा डेनमार्कलाई जिताउन एन्ड्रिएस कोर्निलिअसले दुई गोल गरे। फ्रान्सका लागि करिम बेन्जेमाले गरेको गोल सान्त्वना बन्यो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५१औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाए। तर, त्यो अग्रतालाई फ्रान्सले धेरैबेर जोगाउन सकेन ।
६८ औं मिनेटमा एन्ड्रिएस कोर्निलिअसले गोल गर्दै डेनमार्कलाई खेलमा फर्काए। त्यसपछि खेलको ८८ औं मिनेटमा कोर्निलिअसले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै घरेलु टोली फ्रान्सलाई स्तब्ध पारे। खेलमा फ्रान्सले किलियान एम्बाप्पे र राफायल भरानलाई घाइते हुँदै गुमाएको थियो।
यो नतिजासँगै २० खेलसम्मको फ्रान्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ। फ्रान्स ११ नोभेम्वर २०२० मा फिनल्यान्डसँग २–० ले पराजित भएयता २० खेलमा अपराजित थियो।