यूईएफए नेसन्स लिग फुटबलमा हंगेरीले इंग्ल्यान्डलाई हराएको छ। समूह चरण अन्तर्गत शनिबार राति भएको खेलमा इंग्ल्यान्डलाई हंगेरीले १-० गोल अन्तरले हराएको हो ।
हंगेरीको जितमा डोमिनिक सोबोस्लियाले निर्णायक गोल गरे।
पहिलो हाफसम्म गोलरहित बराबरी रहेको खेलको दोस्रो हाफमा हंगेरीले अग्रता लिएको थियो।
खेलको ६६ औं मिनेटमा सोबोस्लियाले गोल गर्दै हंगेरीलाई सुरूआती अग्रता दिलाएका थिए। सोबोस्लाईले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
रिस जेम्सले जिसोल्ट नागीलाई फउल गर्न पुगेपछि प्राप्त पेनाल्टीमा डोमिनिक सोबोस्लाई चुकेनन्। एक गोलले पछि परेको इंग्ल्यान्डले त्यसपछि लगातार आक्रमण बुने पनि सफलता हात पार्न नसक्दा स्तब्ध बन्न पुग्यो।
उक्त अग्रता कायम राखेको हंगेरीले सन् १९६२ पछि पहिलो पटक इंग्ल्यान्डलाई हराउन सफल भयो।
यो जितसँगै हंगेरीले प्रतियोगिताको पहिलो खेलबाटै ३ अंक जोड्न सफल भएको छ। लिग ए समूह ३ मा हंगेरी शीर्ष स्थानमा रहेको छ। जर्मनी र इटाली बराबरी खेल्दा इंग्ल्यान्ड समूहको पुछारमा छ।