क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले युईएफए नेसन्स लिगमा सानदार जित निकालेको छ।
आइतबार राति लिस्बोनस्थित घरेलु मैदानमा समूह ‘ए’ २ को खेलमा पोर्चुगलले स्विटजरल्यान्डमाथि ४–० को सहज जित निकालेको हो।
पोर्चुगलको जितमा रोनाल्डोले दुई गोल गर्दा विलियम कार्भाल्हो र जोआओ कन्सेलोले थप एक-एक गोल गरे।
खेलको १५ औं मिनेटमा कार्भाल्होले गोल गर्दै घरेलु टोलीलाई सुरूआती अग्रता दिलाएका थिए। ३५ औं मिनेटमा जोटाको पासमा रोनाल्डोले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। त्यसको चार मिनेटपछि गोल गर्दै रोनाल्डोले पहिलो हाफमा ३-० को अग्रता दिलाए।
खेलको ६८ औं मिनेटमा कन्सेलोले गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाए।
यो जितसँगै समूहमा पोर्चुगल दुई खेलबाट ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा स्पेनसँग अंक बाँडेको पोर्चुगलले स्वीटजरल्याण्डलाई पन्छाएको हो।
समान चार अंक भए पनि चेक रिपब्लिक दोस्रोमा छ। यता स्पेन समान खेलबाट दुई अंकसहित तेस्रो तथा स्विटजरल्याण्ड बिना अंक पुछारमा छ।