विश्व विजेता फ्रान्स र उपविजेता क्रोएसियाले युएफा नेसन्स लिगमा बराबरी खेल्दै अंक बाँडेका छन्।
प्रतियोगिताको लिग ए समुह १ अन्तर्गत क्रोएसियामा सम्पन्न खेलमा दुबैले १-१ गोलको बराबरी खेलेका हुन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको सुरूआती अग्रता फ्रान्सले बनायो।
खेलको ५२औं मिनेटमा विसाम बेन यडरको पासमा एड्रियन राबियोटले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।
तर, अन्तिम ७ मिनेट सम्हालिन नसक्दा फ्रान्सले बराबरीमा चित्त बुझाउनुपर्यो। खेलको ८३ औं मिनेटमा घरेलु टोलीले गोल फर्कायो।
फ्रान्सका क्लाउसले आन्ड्रेज क्रामरिचलाई बक्स भित्र फल गरेपछि पाएको पेनाल्टीलाई क्रामरिचले सदुपयोग गरेका थिए।
त्यसपछि गोल भएन र खेल १-१ गोलको बराबरीमा सकियो।
निकै सुधारिएको प्रदर्शन गरेको क्रोएसियाले खेल जित्न अन्तिममा केही राम्रा मौका सिर्जना गरे पनि सदुपयोग गर्न सकेन।
फ्रान्स र क्रोएसिया दुबैले आफ्नो पहिलो खेलमा हार बेहोरेका थिए। फ्रान्स घरेलु मैदानमा डेनमार्क विरूद्ध (२-१)ले स्तब्ध हुँदा घरेलु मैदानमै क्रोएसियाले अष्ट्रियासँग ३-० गोलको फराकिलो हार बेहोरेको थियो।