एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोटका खेलहरू भोलिबाट सुरू हुँदैछन्। विभिन्न ६ समूहमा तेस्रो चरणको खेलहरू हुँदैछन्।
एक समूहको खेल एक देशमा हुँदैछ। नेपाल रहेको समूह ‘ए’ को खेल कुवेतमा हुने तय छ। समूहमा नेपाल र आयोजक कुवेतसँगै जोर्डन र इन्डोनेसिया छन्।
नेपालले आफ्नो पहिलो खेल भोलि राति जोर्डनसँग खेल्दैछ। खेल मध्यरात एक बजे कुवेत सिटीमा हुनेछ।
नेपाल टिमका लागि यो प्रतियोगिता कठिन परीक्षा हुने पक्का छ। टिममा युवा खेलाडीको बाहुल्यता छ। कतिपय खेलाडी पहिलो पटक विदेशी भूमीमा खेल्दैछन्।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग असझमदारी बढेपछि तत्कालिन कप्तान किरणकुमार लिम्बूसहित ११ जना सिनियर खेलाडी राष्ट्रिय टिममा छैनन्।
एन्फा होस्टलमा सुविधा बढाउनु पर्ने वा नेपाली टिम होटलमा राख्नु पर्ने माग राखेपछि अलमुताइरीले रोहित चन्दलाई प्रशिक्षण छाडेर जान भने पछि विवाद सुरू भएको थियो।
त्यसपछि प्रशिक्षकले युवा खेलाडी समेटेर बन्द प्रशिक्षण सञ्चालन गरेका थिए। युवा टिमले घरेलु मैदानमा नेपालमा उपलब्ध अफ्रिकन खेलाडीसँग अभ्यास खेल खेलेका थिए।
त्यसपछि कतार गएको नेपालले इस्ट टिमोरको यू२३ टिम र श्रीलंकासँग बराबरी खेलेको थियो। ओमनसँगको अभ्यास खेलमा नेपाल २-० गोलले पराजित भएको थियो।
अहिले नेपाली टिम कुवेत पुगिसकेको छ। प्रशिक्षक अलमुताइरी कुवेतका भएकाले नेपालले त्यहाँको परिस्थितिको फाइदा लिने विश्वास गरिएको छ।
तुलनात्मक रूपमा नेपाली टिम समूहमा कमजोर छ। नेपाल फिफा वरीयतामा १६८औं स्थानमा छ। जोर्डन ९१औं, कुवेत १४६औं र इन्डोनेसिया १५९औं स्थानमा छन्।
इन्डोनेसिया चार पटक एसिया कप खेलिसकेको टिम हो।
१० पटक एसिया कप खेलिसकेको कुवेत सन् १९८० को एसियन च्याम्पियन हो। सन् २०११ देखि लगातार एसिया कप खेलेको जोर्डनले चार पटक एसिया कपमा सहभागिता जनाएको छ। समूहमा नेपाल मात्र अहिलेसम्म एसिया कप नखेलेको टिम हो।
नेपालले यसअघि दोस्रो चरणको छनोटमा पनि कुवेत र जोर्डनसँग खेलेको थियो। दुवै टिमसँग दुई दुई पटक खेल्दा नेपालले हार बेहोरेको थियो। दुवै टिमविरूद्ध नेपालले गोल समेत गर्न सकेको थिएन।
एसिया कप छनोटअघि नै नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको एसिया कपमा छनोट हुने कुनै सम्भावना नहरेको बताएका थिए। प्रतियोगिताअघि नै नेपालले आफू छनोट हुने मनस्थिति बनाएको अवस्थामा नेपालले राम्रो फुटबल खेल्ने लक्ष्य लिएको छ।
जोर्डनसँग भोलि राति प्रतिस्पर्धा गरेपछि नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ।
सन् २०२३ मा चीनमा हुने एसिया कपमा छनोट हुन समूहमा शीर्ष स्थानमा रहनु पर्नेछ। दोस्रो हुने टिमको पनि छनोट हुने सम्भावना हुनेछ।
नेपाली टिम
गोलकिपर : दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
डिफेन्डर : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डर : आकास बुढामगर, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुनील बल, सुरज ज्यु ठकुरी
फरवार्ड : आयुष घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ (कप्तान)