संयुक्त अरब इमिरेट्स (युएईं) लाई हराउँदै अष्ट्रेलिया कतारमा हुने फिफा विश्वकप नजिक पुगेको छ।
एसियाली क्षेत्रको प्ले अफमा युएईलाई २–१ गोल अन्तरमा हराउँदै अष्ट्रेलिया विश्वकप छनोटको प्लेअफ फाइनलमा पुगेको हो।
कतारमा मंगलबार राति भएको खेलमा अष्ट्रेलियालाई जिताउन ज्याक्सन इर्भिन र एज्दिन रुस्टिकले गोल गरे। युएईंका काइओले एक गोल फर्काए पनि पर्याप्त रहेन।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि सबै तीन गोल दोस्रो हाफमा भएको थियो।
अत्यन्त प्रतिस्पर्धात्मक खेलको ५३औं मिनेटमा ज्याक्सनले गोल गर्दै अष्ट्रेलियालाई सुरूआती अग्रता दिलाए। तर, अष्ट्रेलियाको त्यो अग्रता लामो समय टिकेन। ५७औं मिनेटमा काइओले बराबरी गोल फर्काउँदै युएई खेलमा फर्कियो।
तर अन्तिम ६ मिनेट सम्हालिन नसक्दा एसियाली टोली युएईको विश्वकप सपना सकियो। खेलको ८४औं मिनेटमा एज्दिनले गोल गर्दै अष्ट्रेलियालाई जिताए।
अब अष्ट्रेलियाले विश्वकपमा स्थान बनाउन अन्तर्राष्ट्रिय प्ले अफमा दक्षिण अमेरिकी प्रतिद्धन्द्धी पेरूसँग सोमबार प्रतिस्पर्धा गर्नेछ।