युरो च्याम्पियन इटालीले युइएफए नेसन्स लिगमा पहिलो जित निकालेको छ।
समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा हंगेरीलाई २-१ गोल अन्तरले हराउँदै इटालीले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो।
ओरोगेल स्टेडियम डिनो मानुजी सिसेना इटालीमा मंगलबार राति भएको खेलमा घरेलु टोलीलाई जिताउन निकोलो बरेल्ला र लोरेन्जो पलिग्रेनीले गोल गरे। हंगरीले उपहार गोल पाएको थियो।
खेलको ३०औं मिनेटमा निकोलो बरेल्लाको गोलबाट इटालीले सुरूआती अग्रता लिएको थियो।
४५औं मिनेटमा लोरेन्जो पेलिग्रेनीले गोल गर्दै इटालीको पहिलो हाफमा २-० को अग्रता दिलाए।
६१औं मिनेटमा जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि हंगेरी खेलमा फर्कने संकेत देखिएको थियो। तर, त्यसपछि थप गोल निस्कन नसक्दा इटाली विजयी हुन भयो ।
पहिलो जितसँगै लिग ए समूह ३ को इटालीले २ खेलबाट ४ अंक जोडेर समूहमा शीर्षस्थानमा उक्लिएको छ।
पहिलो हार बेहोरेको हंगेरी ३ अंक जोडेर दोस्रो स्थानमा झरेको छ। २ अंकसहित जर्मनी तेस्रो तथा इंग्ल्यान्ड १ अंकसहित पुछारमा छ।