यूईएफए नेसन्स लिग फुटबलमा जर्मनी र इंग्ल्यान्डले बराबरी खेल्दै अंक बाँडेका छन्। समूह चरण अन्तर्गत मंगलबार राति जर्मनी र इंग्ल्यान्डले १-१ गोलको बराबरी खेलेका हुन्।
अत्यन्त प्रतिस्पर्धात्मक खेलमा सुरूआती अग्रता जर्मनीले बनाएको थियो।
पहिलो हाफसम्म गोलरहित बराबरीमै सकिए पनि खेलको ५०औं मिनेटमा जोनास होफमानले गोल गर्दै जर्मनीलाई सुरूआती अग्रता दिलाएका थिए।
तर खेलको अन्त्यतिर कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गरेपछि इंग्ल्यान्ड युइएफए नेसन्स लिग ए ग्रुप ३ को खेलमा हारबाट जोगिएको छ।
निर्धारित समयको अन्तिम दुई मिनेट सम्हालिन नसक्दा जर्मनी बराबरीमा रोकिन बाध्य भयो। पेनाल्टी बक्समा केनलाई निको स्लटरबेकले फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिँदै इंग्ल्यान्डलाई पेनाल्टी प्रदान गरेका थिए।
यो बराबरीसँगै इंग्ल्यान्डले समूहमा पहिलो अंक जोडेको छ। इंग्ल्यान्ड पहिलो खेलमा हंगेरीसँग पराजित भएको थियो। जर्मनीको यो लगातार दोस्रो बराबरी हो। यो नतिजापछि जर्मनी २ अंक जोडेर तेस्रो तथा इंग्ल्यान्ड १ अंक जोडेर पुछारमा छ। समूहमा इटाली ४ अंकसहित शीर्ष स्थानमा रहँदा हंगेरी ३ जोड्दै दोस्रो स्थानमा छ।