घरेलु टोली कुवेत इन्डोनेसियासँग स्तब्ध भएको छ। एएफसी एसियन कप २०२३ छनोट तेस्रो चरण अन्तर्गत समूह ए को पहिलो खेलमा इन्डोनेसियाले कुवेतलाई २-१ गोल अन्तरमा हरायो।
नेपाल सम्मिलित समूहको पहिलो खेलमा इन्डोनेसिया घरेलु टोली विरूद्धप १-० ले पछि परेको अवस्था उल्ट्याउँदै विजयी सुरूआत गरेको हो।
खेलको ४१ औं मिनेटमा नासेर अल सुलेमानले गोल गर्दै कुवेतलाई सुरूआती अग्रता दिलाएका थिए। तर पहिलो हाफको अन्त्यतिर इन्डोनेसियाले खेल बराबरीमा ल्यायो।
उसका लागि मार्क क्लकले पेनाल्टीमा गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याए ।
दोस्रो हाफको पहिलो मिनेटमा इन्डोनेसियाले अग्रता लियो। राच्मत इरिआन्तोले गोल गर्दै घरेलु टोलीमाथि २-१ को अग्रता बनाए।
यही अग्रता जोगाएको इन्डोनेसियाले प्रतियोगितामा विजयी सुरूआत गरेको छ।
समूह अन्तर्गत गए राति नै भएको दोस्रो खेलमा नेपाल जोर्डनसँग २-० गोल अन्तरले पराजित भयो।
समूहको शीर्ष टोलीले सिधै एसियन कपमा स्थान पक्का गर्नेछ । यता दोस्रो स्थान हासिल गर्ने शीर्ष ५ टोली पनि अर्को चरणमा प्रवेश गर्नेछन्।