एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोटमा समूह ‘ए’ मा रहेको नेपालले शनिबार राति आफ्नो दोस्रो खेल खेल्यो।
कुवेत सिटीमा भएको खेलमा नेपाललाई घरेलु टिम कुवेतले ४-१ गोलले पराजित गर्यो।
पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफ सुरू भएको तेस्रो मिनेटमै दोस्रो गोल खाएको थियो।
त्यतिबेला नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने टचलाइनमा ढलेका थिए।
बेहोस भएका उनलाई मैदानमै अक्सिजन दिएको टेलिभिजन लाइभमा देखिएको थियो। अचेत अवस्थामा रहेका अलमुताइरीलाई तत्काल अस्पताल लगिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
एन्फाका अनुसार अलमुताइरीको अवस्था अहिले सामान्य अवस्थामा फर्किएको छ। उनी अहिले अस्पतालबाट डिस्चार्ज भएका छन्।
खेलपछि उनले नेपालको पराजयका लागि माफी मागेका छन्।
‘आजको हारका लागि माफी चाहन्छु। हामी योजनामा अघि बढ्नेछौं र आजदेखि नियमित तालिकाअनुसार काम गर्नेछौं,’ अलमुताइरीको भनाइ छ, ‘छनोटपछि मेरो स्वास्थ्यको थप परीक्षणका लागि अस्पताल जानेछु।’
यसअघि राष्ट्रिय टिमका १० जना सिनियर खेलाडी र प्रशिक्षक अलमुताइरीबीचको विवादको विषयमा गठित कार्यदलले पनि अलमुताइरीको स्वास्थ्यमा समस्या देखिएको औल्याएको थियो।
अलमुताइरी कुवेतका नागरिक हुन्। कुवेतमै भएको खेलमा बेहोस भएका अलमुताइरीको स्वास्थ्यको विषयमा कुवेतको फुटबल संघले चासो देखाएको छ।
कुवेतको फुटबल संघका उपाध्यक्ष हइफ अल दाहानी तथा कुवेतका प्रशिक्षक अब्दुल्लाह अहल शाहनीले अलमुताइरीको स्वास्थ्य अवस्थाको बारे हस्पिटलमै गएर जानकारी लिएका छन्।
शनिबार राति कुवेतसँग पराजित भएसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना पनि लगभग सकिएको छ। अब नेपालले अन्तिम खेलमा मंगलबार राति इन्डोनेसियासँग खेल्नेछ।