नेपालले सन् १९६३ देखि अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो उपस्थित जनाउन थाले पनि त्यसलाई फुटबलको सर्वोच्च निकाय फिफाको मान्यता थिएन।
अखिल नेपाल फुटबल संघ (एन्फा) लाई सन् १९७२ मा फिफाले मान्यता दिएपछि भने नेपालले खेलेका खेले पनि अन्तर्राष्ट्रिय मान्यता पाउन थाले।
फिफाले मान्यता दिएको १० वर्षसम्म नेपालले अन्तर्राष्ट्रिय गोल गर्न भने सकेन। सन् १९८२ को एसियन गेम्समा भने नेपालले अन्तर्राष्ट्रिय गोलको खडेरी तोड्यो।
नयाँ दिल्लीमा भएको एसियन गेम्सको फुटबलतर्फ नेपाल समूह ‘बी’ मा परेको थियो। नेपालको समूहमा कुवेत, इराक र म्यानमार थिए।
नेपालले पहिलो खेल २१ नोभेम्बर १९८२ मा कुवेतविरूद्ध नयाँ दिल्लीमा खलेको थियो। सो खेलमा नेपाल ३-१ गोलले पराजित भए पनि इतिहास रच्न सफल भएका थियो।
सन् १९८२ को विश्वकपमा छनोट हुन सफल टिम कुवेतविरूद्ध वाइबी घलेले नेपालका लागि गोल गरेका थिए।
सो गोल नेपालले गरेको पहिलो आधिकारीक अन्तर्राष्ट्रिय गोल हो। जसका कारण घलले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भए।
सन् १९८० को एसियन च्याम्पियन कुवेतविरूद्ध नेपालले सन् २०१९ सम्ममा आठ खेल खेले पनि गोल गर्न सकेन। नेपालले कुवेतविरुद्ध सन् १८८६ को एसियन कपमा ५-०, सन् १९९४ को एसियन गेम्समा ८-० र २००० को एसिया कप छनोटमा ५-० को हार बेहोरेको थियो।
१९ वर्ष दुई देशबीच फुटबलको कुनै प्रतिस्पर्धा भएन।
नेपाल र कुवेतबीच सन् २०१९ मा भने चार खेल भए। सुरूवाती दुई अन्तर्राष्ट्रिय खेलमा नेपालले कुवेतविरूद्ध तुलनात्मक रूपमा राम्रो खेल पस्केको थियो।
सन् २०१९ मा कुवेतमा भएको पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो। यो नै नेपालले कुवेतविरूद्ध हात पारेको अहिलेसम्मकै राम्रो नतिजा हो।
दोस्रो खेलमा भने नेपाललाई कुवेतले १-० ले हराएको थियो।
एसियन कप २०२३ को दोस्रो चरणको छनोटमा नेपाल रहेको समूहमा कुवेत पनि थियो। जसमा पहिलो खेलमा नेपाल ७-० गोलले पराजित भएको थियो।
कुवेतको गर्मीमा नेपाली खेलाडी एकदमै निरिह साबित भएका थिए। त्यसको एक सातापछि नेपालले चाइनिज ताइपेईलाई उसकै मैदानमा हराएर कुवेतविरूद्धको लज्जास्पद हारको चोट भुलाएको थियो।
दोस्रो खेल नेपालले घरेलु मैदानमा खेल्न पर्ने भए पनि दशरथ रंगशाला समयमै पुनर्निर्माण हुन सकेन। जसका कारण नेपालले भुटनमा आफ्नो 'होम म्याच' खेलेको थियो। सो खेलमा नेपाल १-० गोलले पराजित भयो। भुटानमा खेल खेल्न जानुअघि राष्ट्रिय टिमका फरवार्ड विमल घर्तिसहितका पाँच खेलाडी अनुशासनबिपरित 'मध्यरातमा नाइटक्लबमा गएको' भन्दै निलम्बनमा परेका थिए।
एसियन कपको तेस्रो चरणको छनोटमा नेपालको समूहमा कुवेत फेरि पर्यो। शनिबार नेपालले कुवेतविरूद्ध अर्को हार बेहोर्ने क्रममा ४-१ को नतिजा सुम्पियो।
खेलमा नेपालका लागि दर्शन गुरुङले दोस्रो हाफको इन्जुरी टाइममा गोल गर्न सफल भएका थिए। डिबक्सभित्रबाट उत्कृष्ट गोल गरेसँगै नेपालले कुवेतविरूद्ध ४० वर्षपछि गोल गर्न सफल भयो।
पहिलो अन्तर्राष्ट्रिय गोल गरेको ४० वर्षपछि कुवेतविरूद्ध गोल गर्नका लागि नेपालले आठ खेल कुर्नपर्यो।
नेपालले कुवेतविरूद्ध अहिलेसम्म नौ खेल खेल्दा आठ खेलमा हार र एक खेलमा बराबरी खेलेको छ। आठ खेलमा नेपालले ३४ गोल खाएको छ भने अहिलेसम्म २ गोल मात्र गर्न सकेको छ।
३४ गोल खाएको नेपालले पहिलो गोल गरेको ४० वर्षपछि मात्र दोस्रो गोल गर्न सफल भयो।