कप्तान लुका मोड्रिचको निर्णायक गोलमा क्रोएसियाले विश्व विजेता फ्रान्सलाई हराएको छ।
फ्रान्सलाई उसकै घरेलु मैदानमा क्रोएसियाले १–० गोल अन्तरमा स्तब्ध पारेको हो।
पेरिसमा सोमबार राति नेसन्स लिग ए ग्रुप १ मा क्रोएसियालाई जिताउन कप्तान मोड्रिचले खेलको पाँचौ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो।
एक गोलले पछि परेको फ्रान्सले बल पोसेसन राख्दै क्रोएसियामाथि दवाव बढाए पनि गोल गर्न नसक्दा टोलीले घरेलु मैदानमा हार बेहोर्न पुग्यो। क्रोएसियाले भने उक्त अग्रतालाई जोगाउँदै जित निकाल्न सफल भयो।
यो हारसँगै साविक विजेता फ्रान्स नेसन्स लिगको अन्तिम चारको लागि छनोट हुन असफल भएको छ। फ्रान्स नेसन्स लिग ए ग्रुप १ मा जितविहीन बन्दै छनोट हुन असफल भएको हो।
फ्रान्सले खेलेका चार खेलमध्ये दुईमा हार र दुईमा बराबरी खेल्दै समूहमा २ अंक जोडेर पुछारमा रहेको छ।
यस्तै चार खेलमा तीन जित निकालेको डेनमार्क ९ अंकसहित शीर्ष स्थानमा रहँदा समान खेलमा २ जित र एक बराबरी निकालेको क्रोएसिया ७ अंक जोड्दै दोस्रो स्थानमा छ। यस्तै ४ खेलबाट ४ अंक जोडेको अष्ट्रिया तेस्रो स्थानमा रहेको छ। अब समूह चरणमा दुई खेल बाँकी छ।