नेपाल सुपर लिग (एनएसएल) आयोजना गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी भदौ २५ गतेदेखि कात्तिक ५ गतेसम्मका लागि समय उपलब्ध गराएको छ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड एभेन्ट मेनेजमेन्टलाई पत्र लेख्दै समय उपलब्ध गराएको जनाकारी दिएका हुन्।
एनएसएलले गत वैशाख ५ गते समय उपलब्ध गराउन भन्दै एन्फालाई पत्राचार गरेको थियो।
एन्फाले प्रतियोगिता सञ्चालन गर्नअघि खेल तालिका तथा खेल नियमावली सहित प्राविधिक पक्षका विषयहरु पूर्वजानकारी तथा स्वीकृति गरा माएर मात्र सञ्चालन गर्न भनेको छ।
यसअघि गत चैतमा एनएसएल हुने बताइए पनि अन्तिम समयमा स्थगित भएको थियो।
फुटबल प्रतियोगिता खेल्ने १० टिमले खेलाडीको प्रशिक्षण तथा प्रतियोगिता व्यवस्थापनमा गम्भिर असर गरेको भन्दै निर्धारित समयमा प्रतियोगितामा सहभागी हुन असमर्थ भएको बताएका थिए।
उनीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) ले ढिलो गरी प्रतियोगिताको स्विकृती दिएको भन्दै असन्तुष्टि जनाएका थिए।
एनएसएलमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची सहभागी छन्।
एन्फाले एनएसएललाई चैत २५ देखि जेठ १ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न अनुमति दिएको थियो। तर एनएसएल टिमले १५ दिनअघि मात्र प्रतियोगिता गर्न अनुमति दिँदा तयारी गर्न समय नभएको दाबी गरेका थिए।