भारतीय फुटबल टिमले आगामी वर्ष हुने एसियन कप फुटबल प्रतियोगिताका लागि टिकट पक्का गरेको छ।
सन् २०२३ मा चीनमा हुने एएफसी एसियन कपका लागि भारतले समूहको अन्तिम खेलअघि स्थान पक्का गरेको हो।
एसियन कपको तेस्रो चरणको छनोटमा समूह ‘डी’ मा रहेको भारतले सुरूवाती दुई खेलमा जित निकालेको थियो। भारतले पहिलो खेलमा कम्बोडिया र दोस्रो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो।
समूहको अन्तिम खेलमा भारतले हङकङसँग आज राति ८:४५ बजे कोलकतामा प्रतिस्पर्धा गर्दैछ।
समूहको शीर्ष टिम हङकङ र दोस्रो स्थानको भारतको समान ६-६ अंक छ।
एसिया कपमा तेस्रो चरणको छनोटको समूहका शीर्ष टिम र ६ मध्ये पाँच समूहका दोस्रो टिम छनोट हुने प्रावधान छ। जसमा प्यालेस्टाइनले फिलिपिन्सलाई ४-० गोलले पराजित गरेपछि भारतको कम्तिमा उत्कृष्ट दोस्रो टिम हुने पक्का भएको हो।
समूह ‘बी’ को दोस्रो स्थानको फिलिपिन्सले समूहका सबै खेल खेल्दा ४ अंक मात्र बटुल्न सक्यो।
यो नतिजासँगै समूह ‘ए’ बाट जोर्डन, समूह ‘बी’ बाट प्यालेस्टाइन, समूह ‘सी’ बाट उज्वेकिस्तान र थाइल्यान्ड, समूह ‘डी’ बाट हङकङ र भारत, समूह ‘ई’ बाट बहराइन र समूह ‘एफ’ बाट ताजकिस्तान र किर्गिस्तान एसिया कपमा छनोट भएका छन्। अब दुई वटा उत्कृष्ट दोस्रो टिम छनोट हुन बाँकी छ।
यता दक्षिण एसियाका नेपालसहित बंगलादेश, श्रीलंका र माल्दिभ्स एसियन कपमा छनोट हुन असफल भएका छन्।
तीनै टिम समूहको अन्तिम खेलअघि बाहिरिएका हुन्। नेपालले आज राति इन्डोनेसियासँग खेल्दैछ। आजै माल्दिभ्स र श्रीलंकाबीच भिडन्त हुँदा बंगलादेशले मलेसियासँग खेल्छ।
दक्षिण एसियाका अरू टिम बाहिरिदा भारत दक्षिण एसियाबाट एसियन कप खेल्ने एक्लो टिम भएको छ।
भारतले गत संस्करणको एसियन कप पनि खेलेको थियो। भारतले लगातार दोस्रो पटक एसियन कप खेल्न लागेको यो पहिलो पटक हो।