एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको छनोटमा भारतले लगातार तीन खेलमा जित निकालेको छ।
मंगलबार कोलकतामा भएको समूह ‘डी’ को अन्तिम खेलमा भारतले हङकङलाई ४-० गोलले पराजित गरेको हो।
भारत र हङकङ यसअघि नै समूहबाट एसियन कपमा छनोट भइसकेका थिए।
यो खेलपछि भने भारत समूह विजेता बन्दा हङकङ उपविजेताको रुपमा आगामी वर्ष चीनमा हुने एसियन कपका लागि छनोट भएका छन्।
मंगलबार कोलकतामा भएको खेलमा भारतका लागि अन्वार अलीले दोस्रो मिनेटमै गोल गरेका थिए।
कप्तान सुनील क्षेत्रीले ४५ मिनेटमा अग्रता दोब्बर पारेका थिए।
मनवीर सिंहले ८५ मिनेटमा तेस्रो र इशान पन्डिताले दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरे।
जितसँगै भारतले ३ खेलबाट ९ अंक जोड्यो भने हङकङ ६ अंकमै सीमित बन्यो।