इंग्ल्यान्डले घरेलु मैदानमा हंगेरीसँग लज्जास्पद हार बेहोरेको छ। युइएफए नेसन्स लिग ए ग्रुप ३ मा इंग्ल्यान्डले हंगेरीसँग ४–० को लज्जास्पद हार बेहोरेको हो।
वल्भरह्याम्टनमा १० खेलाडीमा समेटिएको घरेलु टोलीलाई हराउन हंगेरीका रोलान्ड सल्लाईले दुई तथा जिसल्ट नागी र ड्यानियल गजडगले समान एक-एक गोल गरे ।
खेलको १६औं मिनेटमा रोलान्ड सल्लाईले गोल गर्दै हंगेरीलाई सुरूआती अग्रता दिलाए। पहिलो हाफमा १-० ले पछि परेको घरेलु टोलीले दोस्रो हाफमा थप ३ गोल बेहोर्यो।
७० औं मिनेटमा रोलान्ड सल्लाईले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गरेपछि हंगेरीले खेलमा अग्रता दोब्बर पार्यो।
८० औं मिनेटमा जिसल्ट नागीले गोल गरेपछि हंगेरीलाई ३-० ले अगाडि बढाए।
८२औं मिनेटमा घरेलु टोली इंग्ल्यान्ड १० खेलाडीमा समेटिन पुग्यो। त्यसको फाइदा हंगेरीले उठायो, इङ्ल्याण्ड खेलमा फर्कन सकेन।
जोन स्टोन्स दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोली झनै समस्यामा परेको थियो। त्यसपछि खेल सकिन १ मिनेट बाँकी हुँदा ड्यानियल गजडगले गोल गर्दै हंगेरीलाई फराकिलो जित दिलाए।
यो जितसँगै हंगेरी ४ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। पराजित इंग्ल्यान्ड २ अंक जोडेर पुछारमा रहेको छ। समूहमा ६ अंक जोडेको जर्मनी दोस्रो तथा ५ अंक जोडेको इटाली तेस्रो स्थानमा छ।