जर्मनीले इटालीमाथि सानदार जित निकालेको छ। युइएफए नेसन्स लिग ए ग्रुप ३ मा जर्मनीले घरेलु मैदानमा इटालीलाई ५–२ को सानदार जित निकालेको हो।
बोरूसिया पार्क मोन्चेनग्लाडवाकमा मंगलबार राति भएको खेलमा जर्मनीको फराकिलो जितमा टिमो वेर्नरले दुई तथा योसुवा किम्मिख, इल्केए गुन्डोगान र थोमस मुलरले १-१ गोल गरे।
इटालीका डेगनान्ड वेलफ्रेड नोन्टो र एलेसान्द्रो बास्टोलीले गोल फर्काए पनि हार टार्न सकेनन्।
खेलको १० औं मिनेटमा योसुवा किम्मिखको गोलबाट घरेलु टोली जर्मनीले सुरूआती अग्रता लिएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा इल्केए गुन्डोगानले पेनाल्टीमा गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे ।
त्यसपछि ५१ औं मिनेटमा थोमस मुलरले गोल गर्दै घरेलु टोलीलाई खेलमा ३–० ले अघि बढाए। त्यसपछि टिमो वेर्नरले दुई मिनेट (६८ र ७९) को अन्तरमा दुई गोल गर्दै टोलीलाई फराकिलो जिततर्फ अग्रसर गराए।
त्यसपछि ७८ औं मिनेटमा इटालीका डेगनान्ट नोन्टोले गोल गर्दै खेलमा फर्कने संकेत दिए। इन्ज्युरी समयमा एलेसान्द्रो बास्टोनीले गोल गर्दै खेललाई ५–२ को स्थितिमा ल्याए पनि हारबाट जोगाउन सकेनन्।
यो जितसँगै जर्मनी ४ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। इटाली ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। समूहको शीर्षस्थानमा रहेको हंगेरीले ७ तथा पुछारमा रहेको इंग्ल्यान्डले २ अंक जोडेका छन्।