पंकजबिक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय राजनीतिमा लागेको २० वर्ष भयो।
सन् २००२ मा उनी झापा जिल्ला फुटबल संघको प्रतिनिधित्व गर्दै एन्फाको केन्द्रीय सदस्य बने। त्यसयता उनी एन्फाको कार्यसमितिमा लगातार छन्। तत्कालिन अध्यक्ष गणेश थापादेखि हालका अध्यक्ष कर्माछिरिङ शेर्पालाई झेलिसकेका छन्।
२०७५ वैशाखमा भएको एन्फा निर्वाचनमा उनी उपाध्यक्ष निर्वाचित भएका थिए। पछि उनले चार उपाध्यक्षमध्ये वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाए।
एन्फामा शेर्पापछि दोस्रो वरीयतामा रहेका नेम्बाङले पछिल्लो तीन वर्ष भने नेतृत्वको कार्यशैलीमाथि लगातार प्रश्न उठाइरहे।
एन्फाको केन्द्रीय सदस्य बनेको २० वर्षपछि अहिले नेम्बाङ अध्यक्ष बन्ने दौडमा छन्। आगामी असार ६ गते हुने एन्फाको केन्द्रीय कार्यसमितिको निर्वाचनमा नेम्बाङले अध्यक्ष पदका उम्मेदवारी दिएका छन्। २०७१ सालमा सुरू भएको एन्फा शुद्धिकरण अभियानमा सँगै हिँडेका कर्माछिरिङ शेर्पा उनका मुख्य प्रतिस्पर्धी छन्।
किन तेस्रोपटक एन्फा अध्यक्षमा भिड्दैछन् कर्माछिरिङ?
झापा धुलाबारीका नेम्बाङको बाल्यकाल फुटबलमय थियो। उनका बुबाका पाँच दाजुभाइ नै फुटबल खेल्थे। २०२८ सालामा स्थापित रोलिङ क्लबमा नेम्बाङ परिवारको ठूलो योगदान छ। क्लबले पञ्चायत कालमा प्रतियोगिता आयोजना गरेर जिल्लालाई फुटबलमय बनाउथ्यो।
छोरापुस्तामा पनि फुटबलको क्रेज सर्यो। भाइ आकाशविक्रम नेम्बाङले राष्ट्रिय टिमबाट समेत खेलेको पंकज बताउँछन्। उनका दाइहरू पनि क्लबस्तरका खेलाडी थिए।
पंकज पनि फुटबल खेल्थे। तर उनी सिनियर टिममा पर्न सकेनन्। त्यसैले उनले व्यवस्थापन रोजे। रोलिङ क्लबको सदस्य हुँदै तीन कार्यकाल अध्यक्ष बने। क्लबबाट प्रतिनिधित्व गर्दै झापा जिल्ला फुटबल संघमा आए। जिल्लाबाट केन्द्रीय फुटबल राजनीतिमा छिर्ने क्रममा उनी २० वर्षअघि एन्फाको केन्द्रीय सदस्य बनेका थिए।
उनी एन्फामा प्रवेश गर्दा नेपाली फुटबल विभाजित थियो। उनी सदस्य रहेको एन्फाका अध्यक्ष गणेश थापा थिए भने अर्कातिर गीता राणाको अध्यक्षमा अर्को फुटबल संघ थियो। सो संघमा भने हालका अध्यक्ष कर्माछिरिङ शेर्पा थिए। शेर्पाले कार्यवहाक अध्यक्ष समेत चलाए।
पछि विवाद मिलेपछि शेर्पा पनि गणेश थापाको नेतृत्वको एन्फामा सहभागी भए।
नेपाली फुटबल र स्वार्थको राजनीति
२०७१ सालपछि शेर्पा र नेम्बाङ थापाविरूद्ध एकजुट भएका थिए। थापाले एन्फाभित्र अनियमितता भएको भन्दै आवाज उठाउँदा शेर्पा र नेम्बाङसहितका व्यक्तिले देशव्यापी आन्दोलन चलाएका थिए।
अहिले उनीहरू फरक-फरक प्यानलबाट निर्वाचन लड्नु पर्ने अवस्था किन आयो?
‘सामूहिक निर्णय, पारदर्शिता, अधिकारको विकेन्द्रीकरण गर्छौं भनेर हामीले आन्दोलन गरेका थियौं। हामी निर्वाचित भएर आएपछि आन्दोलनअनुसारको काम भएन भनेर आवाज उठायौं। तर सुनिएन,’ नेम्बाङले भने।
नेम्बाङ पक्षले एन्फा मुख्यालयको रिनोभेसन गर्दा नियम विपरित काम गरेको, २०७५ लिगमा रामसरस्वती मिडियालाई बिनाटेन्डर मिडिया अधिकार दिएको लगायतका अनियमितताको आरोप लगाउँदै आएको छ।
एन्फा निर्वाचन : क्लब र जिल्लालाई कहिलेसम्म भोटका लागि मात्र प्रयोग गर्ने?
‘एन्फामा नियम मिचेर आर्थिक काम गरेका अरू धेरै उदाहरण छन्। यसका विरुद्धमा बैठकमा आवाज उठायौं। नोट अफ डिसेन्ट लेख्यौं,’ नेम्बाङले भने।
एन्फा शुद्धिकरण अभियानमा उठाइएका नारालाई ‘नारामै’ सीमित गरेको नेम्बाङको भनाइ छ।
‘राम्रा-राम्रा नारालाई नारामात्र सीमित गर्नुभयो। सबैको भावनाअनुसार काम गर्नुभएन। अधिकार केन्द्रीकृत गर्नुभयो। १४ वटा टेक्निकल सेन्टर बनाउछु भनेकोमा एउटै ट्रेनिङ सेन्टर बनेन,’ नेम्बाङले आफूले उम्मेदवारी दिनु पर्नेको कारण खुलाउँदै अघि भने, ‘अध्यक्षज्यूले हिजो जुन-जुन काम गर्छु भनेर चुनाव जित्नु भयो त्यो गर्नुभएन। हामी त्यो काम पूरा गर्न हामीले उम्मेदवारी दिएका हौं।’
उनले आफू एन्फा अध्यक्षमा निर्वाचित भएमा एन्फा सचिवालयलाई चुस्त बनाउने बताए।
अधिकार बाडेर विभिन्न समितिलाई सक्रिय बनाउने, बजेटको समानुपातिक विनियोजन गर्ने, ग्रासरुट फुटबललाई वडासम्म पुर्याउने, महिला र पुरुषको गरी ५० वटा फुटबल एकेडेमी स्थापना गर्ने, लिगलाई व्यवस्थित लामो बनाउने, क्लबको तयारी खर्च बृद्धि गर्ने, राष्ट्रिय लिग आयोजना गर्ने, चार वर्षभित्रमा महिला र पुरुषको साफ च्याम्पियनसिप जित्ने लगायतको एजेन्डा अघि सारेका छन्।
त्यसो त नेम्बाङलाई पूर्वअध्यक्ष गणेश थापाको साथ लिएर निर्वाचन लडेको आरोप छ। अघिल्लो निर्वाचनमा थापा पक्षधरका केही व्यक्तिहरू अहिले नेम्बाङको प्यानलमा छन्।
अलमुताइरीले राष्ट्रिय टिमको प्रशिक्षकमा निरन्तरता पाउलान्?
नेम्बाङ गत वर्ष राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादमा फसेका थिए। अलमुताइरीले नेम्बाङका कारण आफूले राजीनामा दिने भन्दै फेसबुकमा लेखेका थिए।
यसलाई नेम्बाङ आफ्नो चरित्रहत्या गर्न चालिएको षड्यन्त्रको संज्ञा दिन्छन्। यो विषयमा राष्ट्रिय खेलकुद परिषदले छानविन समेत गरेको थियो। छानविन समितिको प्रतिवेदनले विवादमा प्रशिक्षक अमुताइरीको दोष देखाएको थियो। तर छानविन समितिको प्रतिवेदन राष्ट्रिय खेलकुद परिषद्मै थन्किदा एन्फामा छलफल हुन सकेको छैन्।
सम्बन्धित समाचारहरू :-
किन तेस्रोपटक एन्फा अध्यक्षमा भिड्दैछन् कर्माछिरिङ?
नेपाली फुटबल र स्वार्थको राजनीति
अलमुताइरीले राष्ट्रिय टिमको प्रशिक्षकमा निरन्तरता पाउलान्?
एन्फा निर्वाचन : क्लब र जिल्लालाई कहिलेसम्म भोटका लागि मात्र प्रयोग गर्ने?