कुनै समय ‘चेञ्ज एन्फा’ को नारा लिएर फुटबल आन्दोलनको एउटै मोर्चामा लागेका कर्माछिरिङ शेर्पा र पंकजबिक्रम नेम्बाङबीच सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वका लागि प्रतिस्पर्धा भयो।
सोमबार भएको चुनावी साधारण सभाबाट आफ्ना पुराना साथी शेर्पालाई ६ मत अन्तरले पराजित गरेका नेम्बाङ आगामी चार वर्षका लागि एन्फा अध्यक्षमा चुनिए।
अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च संस्था फिफाले तत्कालिन अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाउनुअघि देखि नै परिवर्तनको (‘चेञ्ज एन्फा) नारासहित शेर्पा र नेम्बाङ सँगसँगै आन्दोलनमा उत्रिएका थिए।
आन्दोनलको परिणाम स्वरूप २०७४ वैशाखमा शेर्पा एन्फाको अध्यक्षमा निर्वाचित भए। नेम्बाङ चुनावमा सर्वाधिक भोटसहित उपाध्यक्ष विजयी भए।
निर्वाचित भएको एक वर्ष नपुग्दै शेर्पा र नेम्बाङबीच असहमति बढ्यो। नेम्बाङले शेर्पाले आन्दोलनका दौरान उठाइएका मुद्दा बिर्सिएको बन्दै केन्द्रीय समितिमा पटक-पटक विरोध गरेका थिए। जसका कारण दुई बीच सम्बन्ध बिग्रदै गयो। जसका कारण दुई जना फरक-फरक प्यानल बनाएर अघि बढे।
यो निर्वाचनमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्ने अवस्थामा पुगे। जसमा नेम्बाङ कुल ८४ मध्ये ४५ मत प्राप्त गर्दै आगामी चार वर्षे कार्यकालका लागि निर्वाचित भए। शेर्पाले ३९ मत प्राप्त गरे।
नेम्बाङले एन्फा निर्वाचनलाई स्थानीय निर्वाचनभन्दा बढी प्राथमिकतामा राखेका थिए। स्थानीय चुनावमा मेयरको दौड छाडेर नेम्बाङ एन्फामा भिडेका हुन्। कांग्रेस नेता एवं पूर्वमन्त्री नरेन्द्रबिक्रम नेम्बाङका छोरा उनी काङ्ग्रेस महाधिवेशन प्रतिनिधि पनि हुन्।
उनी झापाको मेचीनगर नगरपालिकाको मेयरका पनि दाबेदार थिए। चुनावअघि पार्टी बैठकमा उनले भनेका थिए, 'यसपटक पार्टीले जसलाई उठाउँछ उहाँलाई सहयोग गर्छु। आउँदोपटक मेयरमा मेरो दाबेदारी हुनेछ।'
एन्फा अध्यक्ष जितेपछि के भन्छन् नेम्बाङ?
एन्फा अध्यक्षमा निर्वाचित भएसँगै नेम्बाङले तत्कालको लागि एन्फा र जिल्ला, एन्फा र खेलाडी तथा फिफा /एएफसी सम्बन्ध अझै सुमधुर बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे।
नेम्बाङले खेलाडी र प्रशिक्षकको विवाद पहिलो बैठकबाट निर्णय गर्ने बताए।
उनले भने, ‘खेलाडी प्रशिक्षक विवादको विषयमा गठित छानविन समितिको प्रतिवेदनको वृहत छलफल गर्छौं। सबै पक्षसँग बसेर समस्याको समाधान गर्नेछौं। फिफाबाट प्रारम्भिक आर्थिक प्रतिबन्धजस्तै अवस्था छ। सोही कारण साधरणसभामा अडिट रिपोर्ट पेस गर्न सकेनौं। यो दायित्व पूरा गर्नेछौं। हाम्रो कार्यकालमा पुरुष र महिलाको साफ जित्ने लक्ष्य राखेका छौं। यसबाहेक ग्रासरुट, युथ, महिला, लिगलाई व्यवस्थित गर्ने र राष्ट्रिय लिग सुरू गर्नेछौं।’
यस्तै अध्यक्ष नेम्बाङले नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज फुटबल प्रतियोगिताको विषयमा केही बुँदाहरुमा छलफल गरी समाधान गर्ने बताए।
निर्वाचनमा सँगै प्रतिस्पर्धा गरेका पराजित नभएको र सकारात्मक सुझावको सदैव अपेक्षा गरिरहेको नेम्बाङले बताए।
उनले नेपाली फुटबलमा तत्कालको प्राथमिकता एन्फा, जिल्ला र क्लबको सम्बन्धलाई सुधार गर्नुपर्ने रहेको समेत बताए।
उनले भने, ‘एन्फा र जिल्लाहरू, एन्फा र क्लबहरूको सम्बन्ध बिग्रिरहेको छ। एन्फा र खेलाडीहरूको सम्बन्ध राम्रो भइरहेको छैन। हामीले फिफा, एएफसीसँगकै सम्बन्ध राम्रो गरेर लैजानुपर्छ। सबै बिग्रिएका सम्बन्धलाई एउटा मालामा उनेर सम्बन्ध सुमधुर बनाउँदै अगाडि बढ्नुपर्छ।’
अध्यक्षमा पराजित कर्माछिरिङ शेर्पाले नयाँ टिमलाई बधाई दिँदै नेपाली फुटबल सञ्चालन गर्न सोचेभन्दा धेरै कठिन भएको बताए।
आफू पराजित भए पनि नेपाली फुटबलभन्दा टाढा नजाने र क्लब (हिमालयन शेर्पा क्लब) लाई थप व्यवसयिक बनाउने उनले प्रतिक्रिया दिए।
‘नेपाली फुटबल विगतभन्दा व्यवस्थितरूपमा अगाडि बढ्नुपर्छ। हामीले विगतको चार वर्षमा फुटबलको फाउण्डेसन तयार गर्ने प्रयत्न गर्यौ। त्यो पनि अझै बनिसकेको छैन। खेलाडीले बाह्रै महिना खेल्न, प्रशिक्षकले बाह्रै महिना प्रशिक्षण दिन र रेफ्रीले पनि बाह्रै महिना काम गर्न पाउनुपर्छ। मेरो तर्फबाट नेतृत्वलाई कुनै अवरोध हुँदैन,’ हिमालयन शेर्पा क्लबका अध्यक्ष रहेका शेर्पाले भने, ‘ए डिभिजन क्लबको अध्यक्षको हैसियतमा व्यवसायिक होस् भन्ने चाहना छ। अबको मेरो भूमिका क्लबलाई व्यवसायिक बनाउनेतर्फ केन्द्रित हुनेछ। म फुटबलबाट टाढा जाँदिन।’
फुटबलको पृष्ठभूमीका भएका नेम्बाङ
५१ वर्षीय नेम्बाङ एन्फाको केन्द्रीय सदस्य भएको २० वर्षपछि अध्यक्ष निर्वाचित भएका हुन्।
सन् २००२ मा उनी झापा जिल्ला फुटबल संघको प्रतिनिधित्व गर्दै एन्फाको केन्द्रीय सदस्य बने। त्यसयता उनी एन्फाको कार्यसमितिमा लगातार छन्। तत्कालिन अध्यक्ष गणेश थापादेखि हालका अध्यक्ष कर्माछिरिङ शेर्पालाई झेले।
झापा धुलाबारीका नेम्बाङको बाल्यकाल फुटबलमय थियो। उनका बुबाका पाँच दाजुभाइ नै फुटबल खेल्थे। बुवा नरेन्द्रबिक्रम नेम्बाङले काठमाडौंको महावीर क्लबबाट फुटबल खेलेका थिए।
२०२८ सालामा स्थापित रोलिङ क्लबमा नेम्बाङ परिवारको ठूलो योगदान छ। क्लबले पञ्चायत कालमा प्रतियोगिता आयोजना गरेर जिल्लालाई फुटबलमय बनाउथ्यो।
छोरापुस्तामा पनि फुटबलको क्रेज सर्यो। भाइ आकाशविक्रम नेम्बाङले राष्ट्रिय टिमबाट समेत खेलेको पंकज बताउँछन्। उनका दाइहरू पनि क्लबस्तरका खेलाडी थिए।
पंकज पनि फुटबल खेल्थे। तर उनी सिनियर टिममा पर्न सकेनन्। त्यसैले उनले व्यवस्थापन रोजे। रोलिङ क्लबको सदस्य हुँदै तीन कार्यकाल अध्यक्ष बने। क्लबबाट प्रतिनिधित्व गर्दै झापा जिल्ला फुटबल संघमा आए। जिल्लाबाट केन्द्रीय फुटबल राजनीतिमा छिर्ने क्रममा उनी २० वर्षअघि एन्फाको केन्द्रीय सदस्य बनेका थिए।
उनी एन्फामा प्रवेश गर्दा नेपाली फुटबल विभाजित थियो। उनी सदस्य रहेको एन्फाका अध्यक्ष गणेश थापा थिए भने अर्कातिर गीता राणाको अध्यक्षमा अर्को फुटबल संघ थियो। सो संघमा भने कर्माछिरिङ शेर्पा थिए। शेर्पाले कार्यवहाक अध्यक्ष समेत चलाए।
पछि विवाद मिलेपछि शेर्पा पनि गणेश थापाको नेतृत्वको एन्फामा सहभागी भए।