अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षमा पंकजविक्रम नेम्बाङले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित विशेष समारोहमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले पनि सपथ लिए।
निर्वाचन समितिका संयोजक श्रीराम दवाडीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
सपथ लिएपछि एन्फा अध्यक्ष नेम्बाङले एन्फा कम्प्लेक्समा आफ्नो कार्यभार पनि सम्हालेका छन्।
नेम्बाङले एन्फाका निवर्तमान महासचिव इन्द्रमान तुलाधर, निर्वाचन समिति र एन्फाका कर्मचारीलाई निर्वाचन प्रक्रियामा भूमिका निर्वाह गरेकोमा धन्यवाद दिए।
नेम्बाङ सोमबार भएको निर्वाचनमार्फत एन्फाको अध्यक्षमा चार वर्षका लागि चुनिएका थिए।
उनले ४५ मत ल्याउँदा कर्माछिरिङ शेर्पा ३९ मत ल्याएर पराजित भए।
अन्य पदको टुंगो लाग्दा १३ जना खुला केन्द्रीय सदस्यमध्ये ११ जनाको मात्र टुंगो लागेको थियो। दीपक थापा क्षेत्री, रुपेश अधिकारी, दीपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले समान ३९-३९ मत ल्याएका थिए।
समान मत ल्याएका चार मध्ये दुई जनालाई एन्फाको आगामी साधारणसभाले एन्फाको विधान र फिफा/एएफसीका प्रतिनिधिको सल्लाहको आधारमा निर्वाचित गर्ने निर्वाचन समितिले जनाएको छ।
एन्फाको नयाँ कार्यसमिति
अध्यक्ष : पंकजबिक्रम नेम्बाङ
वरिष्ठ उपाध्यक्ष : वीरबहादुर खड्का
उपाध्यक्ष : दावा लामा, दीपक खतिवडा, विराटजंग शाही र दीर्घबहादुर केसी
केन्द्रीय सदस्य : मनिष जोशी, अनिल मल्ल, रविन्द्र चन्द, विकासनारायण श्रेष्ठ, भोजराज शाही, महेन्द्र क्षेत्री, पुरूषोत्तम थापा, रमेश व्यनजन्कार, मनिराज विष्ठ, टिकाराम लामा र भरत बुढ्थापा
महिला सदस्य : सरिला श्रेष्ठ र पेमा डोल्मा