क्यामरुनको एभिनियर फुटबल क्लबले पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको ‘हेम्जा गोल्डकप अन्तर्राष्ट्रिय गोल्डकप फुटबल’ प्रतियोगिताको उपाधि जितेको छ।
हेम्जा युनाइटेडको आयोजनामा यही असार ४ गतेदेखि पोखरा–२५ स्थित गौरीशङ्कर खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा आयोजक टोली हेम्जा युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै एभिनियरले उपाधिसहित नगद रु छ लाख र ट्रफी पुरस्कार प्राप्त गर्न सफल भयो। उपविजेता बनेको आयोजकको टोलीले रु तीन लाखमा चित्त बुझायो।
आक्रामक खेल पस्किएको एभिनियरले खेलको छैटौँ मिनेटमा गोल गर्दै अग्रता बनायो। हेम्जाका डिफेन्डर सुमन अर्यालले बल रोक्ने क्रममा एभिनियरले कर्नर प्राप्त गरेको थियो। विल्लेले प्रहार गरेको कर्नरमा आनिसेले हेडरमार्फत गोल गर्दै टोलीलाई अघि बढाउनुभयो। खेलको ३५औँ मिनेटमा आयोजक हेम्जाका सुशील राईले गोल गरेपछि पहिलो हाफ बराबरीमै रोकिएको थियो।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। थप गरिएको अतिरिक्त ३० मिनेटको समयमा एभिनियरले २ गोल थप्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो। खेलको ९८औँ मिनेटमा साङले गोल गर्नुभयो भने १०६औँ मिनेटमा विल्लेले गोल गर्दै जीत निश्चित गरे।
प्रतियोगितामा हेम्जा युनाइटेडका गोलरक्षक दीप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु ५० हजार र ट्रफी पुरस्कार पाए। हेम्जा युनाइटेडकै आसिक गुरुङ उत्कृष्ट डिफेन्डर, सुशील राई उत्कृष्ट फरवार्ड, एभिनियरका गोलरक्षक कोभास्सि उत्कृष्ट गोलरक्षक र एभिनियरकै नेल्शन उत्कृष्ट मिडफिल्डर घोषित हुँदै जनही रु २० हजारका दरले पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको उदीयमान खेलाडीको उपाधि हेम्जाका मनिश थापा घोषित भए र रु २० हजार पुरस्कार प्राप्त गरे। प्रतियोगिताको अनुशासित टिम कालिका फुटबल क्लब घोषित हुँदै रु २५ हजार पुरस्कार हात पार्न सफल भयो। विजयी टोली, सर्वोत्कृष्ट खेलाडी र विधागत रुपमा उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) लगायतले पुरस्कार प्रदान गरे।