अखिल नेपाल फुटबल संघ (एन्फा) को अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नवीन पाण्डेलाई गरिएको नियुक्तिलाई लिएर उठेका केहि सवालहरूमा आफ्नो ध्यानाकर्षण भएको एन्फाले जनाएको छ।
‘संघको सो निर्णय दाबी गरे अनुरूपको विधान विपरितको नभएको जानकारी गराउन चाहन्छौं। पाण्डेले यस संघबाट कुनै तलब सुविधा नलिइ स्वैच्छिक रूपमा सो पदमा रहने कुरा पनि जानकारी गराउछौं,’ एन्फाले विज्ञप्ति निकाल्दै भनेको छ।
एन्फाले अघि भनेको छ, ‘साथै संघको विधानको धारा २४ को ३ र क मा स्पष्टसँग 'गैर नेपाली नागरिक एन्फा वा प्रदेश फुटबल संघ वा जिल्ला फटबल संघमा निर्वाचित वा मनोनित हुन सक्नेछैन' भनेर व्याख्या गरिएको र फुटबल खेलको विकासका लागि मुख्य प्रशिक्षक प्रशिक्षक लगायत अन्य फुटबल प्राविधिक र अन्तराष्ट्रिय सम्बन्ध सुधार र गतिविधिका लगि विदेशी नागरिकलाई प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको हुदाँ कार्यसमितिको सो निर्णय विधान विपरित नरहेको कुराको पनि सबैमा जानकारीको लागि सूचित गर्दछौं।’
यसअघि बुधबार बसेको नवनिर्वाचित एन्फाको पहिलो बैठकले पाण्डेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो।
पाण्डे चार वर्षअघि पनि एन्फाको अन्तर्राष्ट्रिय प्रमुखमा नियुक्त भएका थिए। तर तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पाण्डेले एक वर्ष नबित्दै राजीनामा दिएका थिए।