ए डिभिजन क्लब न्युरोड टिम (एनआरटी) प्रि–सिजन टुर लागि सोमबार मलेसिया प्रस्थान गर्दैछ।
एनआरटीले सोमबार एक कार्यक्रमको आयोजना गरेर मलेसिया र थाइल्याण्ड जाने ३० सदस्यीय टोलीलाई बिदाइ गरेको छ।
क्लबका अध्यक्ष सुन्दरनरसिंह जोशी, पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठ लगायत क्लबका पदाधिकारीले टोलीलाई बिदाइ गरेका थिए।
एनआरटीले मलेसियाको पेनाङमा आयोजनामा हुने टिवाइटी कप फुटबल प्रतियोगिता खेल्नेछ। जसमा मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र इन्डोनेसियाको लिग–२ क्लब कारो एफसीसँग प्रतिस्पर्धा गर्नेछ।
एनआरटीले ३० जुनमा कारो एफसी र २ जुलाईमा पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्नेछ। लिगको अंकको आधारमा विजेता र उपविजेता टोलिको टुंगो लाग्नेछ।
प्रतियोगिता पेनाङका शहर प्रमुख मिस्टर याङले पदबहाली ग्रहण गरेको पहिलो बार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको हो। प्रतियोगिता २८ जुनदेखि २ जुलाईसम्म हुनेछ।
२० हजार दर्शक क्षमता भएको पेनाङ सिटी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङ्गेट पुरस्कार जित्नेछ। उपविजेता टोलीले ५ हजार मलेसियन रिङ्गेट पुरस्कार जित्नेछ।
एनआरटीले थाइल्याण्डमा ३ मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ। जसमध्ये एक खेल थाई लिग वान क्लव चोनबुरी एफसीसँग खेल्ने छ। एनआरटीको टोली मलेसियाबाटै थाइल्याण्ड जाने तालिका रहेको छ।
टुरका लागि मिडफिल्डर विशाल राई, डिफेन्डर रन्जित धिमाल, डिफेन्डर छिरिङ गुरुङ, मिडफिल्डर गौरव श्रेष्ठ र रुमेश बर्तौलालाई समेत अनुबन्ध गरेको छ। त्यस्तै एनआरटीले मिडफिल्डर सुवास गुरुङ, मिडफिल्डर निकालोस फर्नान्डेज, सन्जोक राई र क्यामरुनका गोलकिपर टोलो ल्यान्ड्रीलाई समेत अनुबन्ध गरेको थियो।