दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२२ नेपालमा हुने सम्भावना बढेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफलाई छैठौं संस्करणको महिला च्याम्पियनसिप आयोजना गर्न केही महिनाअघि नै पत्र पठाएको थियो।
एन्फाको नयाँ कार्यसमिति चयन भएपछि यो प्रस्ताव अघि बढेको छ। काठमाडौंको दशरथ रंगशालामा प्रतियोगिता आयोजन गर्न प्रस्ताव गरिएको छ।
यसअघि साफले महिला साफको मिति अगस्ट १२ देखि २४ सम्मका लागि तोकेको थियो।
अघिल्लो संस्करणको महिला साफ पनि नेपालमै आयोजना भएको थियो।
सन् २०१९ को १२ देखि २२ मार्चसम्म आयोजना भएको महिला साफ विराटनगरमा भएको थियो। यो प्रतियोगिताको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको थियो।
अहिलेसम्म सम्पन्न भएका पाँच संस्करणकै उपाधि भारतले जितेको छ। नेपाल भने चार पटक फाइनल पुगेर पराजित भएको छ। चारै पटक नेपाल भारतसँग पराजित भएको थियो।