अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई बंगलादेशको राजधानी ढाकामा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) कंग्रेसमा सहभागी हुन बिहीबार दिउँसो बंगलादेश जाँदैछन्।
एन्फाका पूर्वसदस्य विकास नारायण श्रेष्ठ र न्यूरोड टिमका अध्यक्ष सुन्दरनरसिंह जोशी पनि शनिबारदेखि हुने साफ कंग्रेसमा भाग लिन जाँदैछन्।
महासचिव राईले महाधिवेशनमा काठमाडौंमा साफ महिला च्याम्पियनसिप गराउने एन्फाको प्रस्ताव औपचारिक रुपमा प्रस्तुत गर्नेछन्।
यसअघि साफले महिला साफको मिति अगस्ट १२ देखि २४ सम्मका लागि तोकेको थियो।
अघिल्लो संस्करणको महिला साफ पनि नेपालमै आयोजना भएको थियो।
सन् २०१९ को १२ देखि २२ मार्चसम्म आयोजना भएको महिला साफ विराटनगरमा भएको थियो। यो प्रतियोगिताको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको थियो।
अहिलेसम्म सम्पन्न भएका पाँच संस्करणकै उपाधि भारतले जितेको छ। नेपाल भने चार पटक फाइनल पुगेर पराजित भएको छ। चारै पटक नेपाल भारतसँग पराजित भएको थियो।