दिवाकर घले गुरुङ नेपाली यू–२० राष्ट्रिय फुटबल टिमको टिम म्यानेजर नियुक्त भएका छन्। उनलाई शुक्रबार यो जिम्मेवारी दिइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
महावीर क्लबका अध्यक्ष समेत रहेका घलेले आगामी जुलाई २५ देखि अगस्ट ३ सम्म भारतमा हुने साफ यू–२० च्याम्पियनसिपमा नेपाली टिमको जिम्मेवारी सम्हाल्ने छन्।
उनले एएफसी यू–२० एसिया कप छनोटमा पनि टिमको व्यवस्थापन हेर्नेछन्। एसिया कप छनोट आगामी सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा आयोजना हुनेछ।
हाल नेपालको राष्ट्रिय यू–२० टिम दुवै प्रतियोगिताका लागि बन्द शिविरमा छ।
नेपालले साफ यू–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र त्यसपछि ३१ मा भारतसँग खेल्नेछ।
नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ।
एएफसी यू–२० एसिया कप छनोटमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै राष्ट्रिय यू–२० टिम पनि परेका छन्।
नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १० मा भुटानसँग र दोस्रो खेल सेप्टेम्बर १२ मा कतारसँग खेल्नेछ भने तेस्रो खेल सेप्टेम्बर १४ मा बहराइनसँग र चौथो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ।