पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफूलाई उपयुक्त प्रस्ताव आएमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाड्न चाहेका छन्।
उपयुक्त प्रस्ताव आएमा क्लबले पनि सहयोग गरोस् भन्ने रोनाल्डोको चाहना भएको बिबिसीले लेखेको छ।
३७ वर्षीय फरवार्ड रोनाल्डो गत वर्ष इटालियन क्लब युभेन्टसबाट युनाइटेड फर्किएका थिए।
उनी गत सिजन युनाइटेडको सर्वाधिक गोलकर्ता थिए भने प्रिमियर लिगको उच्च गोलकर्ताको सूचीमा तेस्रो स्थानमा थिए।
तर क्लबका लागि गत सिजनको नतिजा अपेक्षाकृत थिएन।
युनाइटेडले प्रिमियर लिगमा छैटौं स्थानमा रहँदा च्याम्पियन्स लिगको छनोट गुमाएको थियो।
रोनाल्डोको युनाइटेडसँगको सम्झौता एक वर्ष बाँकी छ।
युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुन नसकेपछि रोनाल्डोले पहिलो पटक युरोपा लिग खेल्दैछन्।
पाँच पटकको बालोन डी'ओर विजेता रोनाल्डो आफ्नो करियर अझ उचाइमा पुर्याउन आकर्षक विकल्पहरू खोजिरहेका छन्।
स्पेनिस क्लब रियल म्याड्रिडका पूर्व फरवार्ड रोनाल्डो पछिल्लो समय चिन्तित छन्। उनी युनाइटेडलाई सम्मान गर्छन् तर आफ्नो करिअर अन्तिम चरणमा प्रवेश गर्दा ठूलो पुरस्कारको लागि प्रतिस्पर्धा गर्न चाहन्छन्।
यता युनाइटेडले रोनाल्डोलाई बिक्री गर्ने खेलाडीको रुपमा हेर्दैन।
नयाँ प्रशिक्षक एरिक टेन ह्यागका आएपछि युनाइटेडका धेरै समस्या समाधान हुने विश्वास गरिएको छ।
रोनाल्डोले गत सिजन युनाइटेडको कप्तानी ह्यारी म्यागुइरसँग झगडा गरेका थिए।
टेन ह्यागले रोनाल्डोसँग काम गर्न आफू उत्सुक रहेको बताए पनि रोनाल्डोको खेल्ने शैली उनको प्रणालीसँग कसरी मिल्छ भन्ने स्पष्ट छैन।
यता रोनाल्डो यसै साता प्रि–सिजन प्रशिक्षणका लागि क्लब फर्कदैछन्। उनी थाइल्याण्ड र अष्ट्रेलियाको प्रि-सिजन भ्रमणमा टिममा हुनेछन्।