नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्दले ब्राजिलका लिजेन्ड फुटबलर रोनाल्डिन्होसँगै खेल्न पाउँदा अद्भुत अनुभव भएको बताएका छन्।
चन्द असार १२ मा रोनाल्डिन्होविरूद्ध मैदान उत्रिएका थिए। इन्डोनेसियामा भएको मैत्रीपूर्ण खेलमा रोहितले रोनाल्डिन्होविरूद्ध खेलेका थिए।
रोनाल्डिन्होविरूद्ध मैदान उत्रिएको क्षणबारे रोहितले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महान् रोनाल्डिन्होसँगै खेल्न पाउनु एक अद्भुत अनुभव भयो। मैले रोनाल्डिन्होसँगै खेल्छु भनेर कहिल्यै सोचेको थिइन। जसको जादूमयी खेल हेरेर हुर्किए, उसैसँग एउटै मैदानमा खेल्न पाउनु मेरो लागि ठूलो अनुभव र आशिष हो।’
इन्डोनेसियाको शीर्ष डिभिजनको लिग-१ क्लब पेर्सिक केडिरीले अर्को लिग-१ क्लब रेन्स नुसनतारा एफसीसँग मैत्रीपूर्ण खेल खेल्दा ब्राजिलका लिजेन्ड फुटबलर रोनाल्डिन्होलाई मैदान उतारेको थियो।
यसै सिजन लिग-१ मा बढुवा भएको नुसनताराले रोनाल्डिन्होलाई मैदान उतारेको थियो।
सिजनको लिग सुरू हुनुअघि उसले समर्थकलाई गरेको बाचा पूरा गर्न रोनाल्डिन्होलाई घरेल मैदानमा ल्याएर खेलायो।
गत मार्चमा क्लबले आफ्ना समर्थकलाई सरप्राइज दिनका लागि रोनाल्डिन्होलाई मैदान उतार्ने बाचा गरेको थियो।
गएको आइतबार उनै ४२ वर्षीय रोनाल्डिन्हो नुसनतारबाट खेल्दा उनीविरूद्ध नेपालका मिडफिल्डर रोहित चन्दले पनि खेल्ने अवसर पाए। रोहित यसै सिजन पेर्सिजा जाकर्ताबाट पेर्सिक केडिरीमा आबद्ध भएका थिए।
खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो। खेलमा केडिरी पेनाल्टी सुटआउटमा ४-२ गोलले विजयी भएको थियो।