इंग्लिस फरवार्ड रहिम स्टर्लिङ म्यानचेस्टर सिटी छाड्दै चेल्सीमा आबद्ध हुने भएका छन्। २७ वर्षीय स्टर्लिङ र सिटीबीच अझै एक वर्षको सम्झौता बाँकी छ।
स्टर्लिङ सन् २०१५ मा अर्को इंग्लिस क्लब लिभरपुलबाट सिटिमा ४९ मिलियन पाउन्डमा आबद्ध भएका थिए। उनले त्यसयता ३३९ खेलमा १३१ गोल गरेका थिए।
इंग्ल्यान्डको राष्ट्रिय टिमबाट ७७ खेल खेलिसकेका स्टर्लिङलाई भित्र्याउन लागेको चेल्सीका लगाि यो सम्झौता सिजनको अहिलेसम्मको ठूलो सम्झौता हो।
आगामी साता प्रिसिजन भ्रमणका लागि अमेरिका जानुअघि चेल्सीले स्टर्लिङसँग सम्झौता गर्ने अपेक्षा गरिएको छ।
स्टर्लिङलाई भित्र्याउन बार्सिलोना, रियल म्याड्रिड र बायर्न म्युनिखले पनि चासो देखाएका थिए। तर स्टर्लिङ चेल्सीको प्रस्तावमा सहमत भएका हुन्।