अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आगामी साउन २ मा बस्ने भएको छ।
एन्फा सचिवालयका अनुसार साउन २ का लागि बोलाइएको बैठकमा नेपाल सुपर लिग (एनएसएल), महिला साफ र पदाधिकारी नियुक्त लगायतको एजेन्डामा छलफल हुनेछ।
दक्षिण एसियाली फुटबल महासंघले महिला साफ अगामी भदौमा नेपालमा आयोजना गर्ने निर्णय गरेको थियो। नेपालमा आयोजना हुने साफ सफल बनाउन एन्फा बैठकले विभिन्न निर्णय गर्नेछ।
यस्तै नेपाल सुपर लिगसँगको सम्झौताको विषयमा पनि एन्फा बैठकमा छलफल हुनेछ।
यसअघि असन्तुष्ट ए डिभिजन क्लब र एन्फा पदाधिकारीबीच भएको छलफलमा नेपाल सुपर लिगको सम्झौतामा त्रुटि रहेकाले रद्द गर्न केन्द्रीय समितिलाई सिफारिस गर्ने सहमति भएको थियो।
अब केन्द्रीय समितिले नेपाल सुपर लिगलाई नयाँ ढंगबाट अघि बढाउने विषयमा निर्णय गर्न सक्नेछ।
यस्तै बैठकमा एन्फामा रिक्त केही पदमा नियुक्त गर्नका लागि छलफल गर्नेछ।
गत असार ६ मा पंकजबिक्रम नेम्बाङ एन्फाको अध्यक्षमा निर्वाचित भएपछि दोस्रो पटक कार्यसमितिको बैठक बस्न लागेको हो।