गत साता अस्ट्रेलिया पुगेका राष्ट्रिय फुटबल टिमका तीन खेलाडी मेलवर्नको युनाइटेड एफसीमा आबद्ध भएका छन्।
गत साता फरवार्ड दर्शन गुरुङसहित मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर नवीन गुरुङ अस्ट्रेलियाको मेलवर्न पुगेका थिए।
युनाइटेड एफसी मेलवर्नले आइतबार एमसीएसए प्रिमियर लिग २०२२ को आफ्नो १२औं खेल खेल्दा तीनै खेलाडी टिममा थिए।
आइतबार कूयोङ युनाइटेडविरूद्धको खेलमा युनाइटेड एफसी भने पराजित भयो। युनाइटेडलाई कूयोङले ३-२ गोलले पराजित गरेको थियो।
युनाइटेडका लागि दुवै गोल दर्शन गुरुङले गरेका थिए। लिगमा डेब्यू गरेका डिफेन्डर नवीन गुरुङले पहिलो खेलमै पहेँलो कार्ड पाएका थिए।
युनाइटेड एफसी मेलवर्नले हाल त्यहाँको स्थानीय एमसीएसए प्रिमियर लिग २०२२ खेलिरहेको छ। एमसीएसए प्रदेशस्तरको तल्लो डिभिजनको प्रतिस्पर्धात्मक एम्याचोर लिग हो। यो लिगलाई प्रदेशस्तर लिगको ढोका समेत मानिन्छ।
लिगमा १० क्लबबीच प्रतिस्पर्धा भइरहेको छ। जहाँ यति एफसी, हिमालयन एफसी, हिमालयन टाइगर लगायतले प्रतिस्पर्धा गरिरहेका छन्। यी टिममा नेपाली मूलका खेलाडीहरू आबद्ध छन्। क्लबले यो लिगबाहेक अन्य स्थानीय फुटबल प्रतियोगिता पनि खेल्ने गर्छ।
सोमबार अस्ट्रेलिया पुगेका तीनै जना पछिल्लो समय राष्ट्रिय टिममा थिए। जसमा दर्शनले पछिल्लो पटक नेपालका लागि गोल समेत गरेका थिए।
दर्शनले गत महिना एएफसी एसियन कप छनोटअन्तर्गत कुवेतविरूद्ध गोल गरेका थिए।
दुई वर्षअघि राष्ट्रिय टिममा डेब्यू गरेका इलामका दर्शनले कुवेतविरूद्ध दोस्रो हाफको इन्जुरी टाइममा गोल गर्न सफल भएका थिए।
डिबक्सभित्रबाट उत्कृष्ट गोल गरेसँगै नेपालले कुवेतविरूद्ध ४० वर्षपछि गोल गर्न सफल भएको थियो। अघिल्लो सिजन उनले एनआरटीबाट ए डिभिजन लिग खेलेका थिए।
यता डिफेन्डर नवीन गुरुङले गत वर्ष दशरथ रंगशालामा मरिससविरूद्धको खेलमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
नवीनले गत सिजन एनआरटीबाट ए डिभिजन लिग खेलेका थिए।
यता चार वर्षअघि राष्ट्रिय टिममा डेब्यू गरेका सन्तोष तामाङ आर्मीका प्रभावशाली मिडफिल्डर हुन्। पछिल्लो समय आर्मीको मुख्य खेलाडी बनेका सन्तोषले राष्ट्रिय टिमबाट १६ खेल खेलिसकेका छन्।
पछिल्लो समय नेपाली फुटबलर भविष्य खोज्दै अस्ट्रेलिया जाने क्रम बढेको छ। यो वर्ष मात्रै राष्ट्रिय टिमका पाँच खेलाडी अस्ट्रेलिया गइसकेका छन्।
यसअघि सुमन लामा र आसिष लामा पनि अस्ट्रेलिया पुगेका थिए। त्यहाँको स्थानीय टिमबाट फुटबल खेलिरहेका सुमन र आसिष अघिल्लो वर्षसम्म राष्ट्रिय टिममा महत्वपूर्ण खेलाडी थिए।
तीन वर्षअघि मिडफिल्डर हेमन गुरुङ र गोलकिपर एनल न्यौपाने अस्ट्रेलिया गएका थिए। लगत्तै अर्का खेलाडी बिमल बस्नेत पनि अस्ट्रेलिया पुगेका थिए।