फ्रेञ्च मिडफिल्डर पाउल पोग्बा इटालियन क्लब युभेन्ट्समा आबद्ध भएका छन्। उनी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँगको सम्झौता सकिएसँगै युभेन्ट्समा फर्किएका हुन्।
पोग्बा सन् २०१६ मा युभेन्ट्सबाट त्यतिबेलाको कीर्तिमानी ८९ मिलियन पाउन्डमा म्यानचेस्टरमा आबद्ध भएका थिए।
२९ वर्षीय पोग्बाले म्यानचेस्टरमा आबद्ध हुनुअघि युभेन्ट्सबाट दुई पटक इटालियन सिरि एको उपाधि जितेका थिए।
पोग्बाले गत अप्रिलदेखि चोटका युनाइटेडबाट खेल खेलेका थिएनन्।
सन् २००९ मा पोग्बा १६ वर्षको उमेरमा युनाइटेडको एकेडमीमा आबद्ध भएका थिए।
युनाइटेडमा उनले २३३ खेल खेल्दा ३३ गोल गरे।
फ्रान्सको राष्ट्रिय टिमका भरपर्दा खेलाडी पोग्वाले ९१ अन्तर्राष्ट्रिय क्याप जितिसकेका छन्। सन् २०१८ को विश्वकप फ्रान्सले जित्दा उनी टिमका महत्वपूर्ण खेलाडी थिए।
युनाइटेडका लागि भने उनले सोचेजस्तो प्रदर्शन गर्न सकेनन्। उनले २०१८-१९ को सिजनमा १६ गोल गरेका थिए। तर पछिल्ला तीन सिजनमा उनले ९१ खेलमा ८ गोल गरे। यस्तै पछिल्लो २७ खेलमा पोग्बाले एक गोल मात्र गर्न सके।