अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बस्ने तय भएको दोस्रो केन्द्रीय कार्यसमिति बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ बिरामी भएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। जसका कारण केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको एन्फाको भनाइ छ।
नेम्बाङलाई 'ब्लड प्रेसर' को समस्या देखिएको बताइएको छ। बैठक आज दिउँसो ३ बजे बोलाइएको थियो।
छोरालाई एन्फामा नियुक्ति दिलाउन गणेश थापाको कसरत
बैठकका लागि एन्फा सचिवालयले केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूलाई १२ वटा एजेन्डा पठाएको थियो।
महिला साफ च्याम्पियनसिप आयोजना, पदपूर्ति समिति, नेपाल सुपर लिग लगायताका एजेन्डा पठाइएकोमा बैठकअघि उपाध्यक्ष कुमार केसीले माग गरेका ५ वटा एजेन्डा पनि थप गरिएका थिए।
उनले एन्फाको विशेष साधारण सभा, महिला लिगको दोस्रो चरण आयोजना, राष्ट्रिय लिग आयोजना, सहिद स्मारणक ए, बी र सी डिभिजन लिगको मिति घोषणा र ललित स्मृति यू-१८ प्रतियोगिता आयोजनाको विषय थप गर्न माग गरेका थिए।
अर्का उपाध्यक्ष दीपक खतिवडाले माग गरेका दुई एजेन्डा पनि थपिएका छन्। उनले एन्फा प्रवक्ता र प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तिको एजेन्डा थप्नु पर्ने माग गरेका थिए।
सोमबार छलफल हुने एजेन्डामध्ये सिईओ नियुक्तिको विषय पेचिलो बनेको छ। भ्रष्टाचार गरेको ठहर गर्दै फिफाले प्रतिबन्ध लगाएका एन्फाका पूर्वअध्यक्ष गणेश थापाले आफ्ना छोरा गौरव थापालाई सिईओ बनाउन कसरत गरिरहेका छन्।
सिईओ नियुक्तको एजेन्डा थप गर्न माग गर्ने उपाध्यक्ष खतिवडा गणेश थापा निकट हुन्। उनीसहित वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र उपाध्यक्ष विराटजंग शाही थापाको प्यानलमा छन्। तीनै उपाध्यक्षले अध्यक्ष पंकजबिक्रम नेम्बाङको प्यानलमा रहेर निर्वाचन जितेका थिए। उनीहरूसँग थापाले लगातार छलफल गरेका छन्।
२०७२ को कात्तिकमा फिफाले पूर्वअध्यक्ष थापालाई १० वर्षको प्रतिबन्ध लगाउदा उनका जेठा छोरा गौरव थापा पनि अप्रत्यक्ष रुपमा उक्त केसमा मुछिएका थिए। एसियाली फुटबल महासंघ (एएफसी) का तत्कालिन अध्यक्ष मोहमद बिन हमामले गौरवको खातामा एक लाख अमेरिकी डलर पठाएको समेत सार्वजनिक भएको थियो। त्यसपछि एएफसीका कर्मचारी गौरव जागिर छाडेर नेपाल फर्किएका थिए।
गणेश थापाको कसरत र अध्यक्षमा प्रतिस्पर्धा गरेका कर्माछिरिङ शेर्पा समूहका कारण अध्यक्ष नेम्बाङलाई कार्यसमितिमा निर्णय गर्न दबाब परेको छ। आफ्नै प्यानलबाट निर्वाचन जितेका उपाध्यक्ष तथा सदस्य पूर्वअध्यक्ष थापाका एजेन्डामा लागेका कारण नेम्बाङमाथि दबाब परेको हो।
त्यसो त नेम्बाङलाई निर्वाचन जित्नका लागि थापा पक्षको सहयोग थियो। निर्वाचनअघि आफ्नो पक्षलाई सिईओ र प्रवक्ता दिने सहमति भएको थापा पक्षको दाबी छ।
सिईओ लगायतको विषयमा नेम्बाङले दुवै पक्षसँग छलफल गरेका छन्।
स्रोतका अनुसार नेम्बाङ पक्षले गणेश थापाका छोरा गौरवलाई सहमहासचिव दिनका लागि लचक भएको छ। यद्यपी यो विषयमा सोमबार हुने एन्फा बैठकमा चर्को बहस हुने देखिन्छ।
कर्माछिरिङ पक्षबाट निर्वाचन जितेका पदाधिकारी तथा केन्द्रीय सदस्यले गणेश थापा पक्षको दबाबलाई समर्थन नगर्ने बुझिएको छ। यस्तै विधानविपरितका निर्णयमा शेर्पा समूहले आवाज उठाउने बताएको छ।