भारतमा हुने साफ यू-२० च्याम्पियनसिपका लागि नेपाली टिम त्यसतर्फ प्रस्थान गरेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुवनेश्वरमा हुने प्रतियोगितामा सहभागी हुने नेपाली यू–२० राष्ट्रिय टोलीलाई शुक्रबार विदाइ गरेको छ।
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक विशेष कार्यक्रमका बीच विदाई गरिएको हो।
बिदाइ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न टोलीलाई शुभकामना दिएका थिए।
‘प्रतियोगितामा जितको कामना गर्दछु। भविष्यमा पनि यी खेलाडीलाई राष्ट्रिय टोलीमा हेर्ने आशा गर्छु,’ घिसिङले भने।
एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङले टोलीबाट राम्रो प्रदर्शनको अपेक्षा गरे।
‘प्रत्येक खेलाडी र प्रशिक्षक कर्मचारीले गरेको प्रयासले प्रतियोगितामा पक्कै पनि राम्रो नतिजा ल्याउनेछ। म तपाईंलाई धेरै धेरै शुभकामना र विजय कामना गर्दछु,’ अध्यक्ष नेम्बाङले भने।
कार्यक्रममा एन्फाका वरिष्ठ उपाध्यक्ष खड्काले स्वागत मन्तव्य राख्दै युवा खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउनु नयाँ नेतृत्वका लागि खुसीको क्षण भएको बताए।
नेपालले साफ यू–२० च्याम्पियनसिपको आफ्नो पहिलो खेल जुलाई २५ मा माल्दिभ्ससँग खेल्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकासँग र ३१ मा भारतसँग खेल्नेछ। नेपालले समूहको अन्तिम खेल अगस्ट २ मा बंगलादेशसँग खेल्नेछ ।
समूह चरणपछि शीर्ष दुई टोलीले अगस्ट ५ मा फाइनल खेल्नेछन्।
नेपाली टिम
गोलकिपरः ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख
डिफेन्डरः अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा
मिडफिल्डरः दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनाज्ञ नकर्मी, आयुष घलान (कप्तान)
फरवार्डः रोहित सुब्बा, निरञ्जन मल्ल, रोहन खड्गी