आगामी भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा कुमार थापालाई नियुक्त गरेको छ।
टिम म्यानेजरमा एन्फा महिला संघकी पूर्व अध्यक्ष विन्द्रा देवानलाई नियुक्त गरिएको छ।
एन्फाले च्याम्पियनसिपका लागि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय आयोजक समिति समेत गठन गरेको छ। सबै उपाध्यक्ष र कार्यसमिति सदस्यहरू आयोजक समितिको सदस्य हुनेछन्।
यस्तै प्रतियोगिताको भेन्यु म्यानेजरमा रवीन्द्र चन्द, स्थानीय संयोजकमा विजय घले र सुरक्षा प्रमुखमा दिनेश ब्याञ्जनकार तोकिएका छन्।
सञ्जीव सिल्पकारले प्रतिस्पर्धाको मार्केटिङ, प्रसारण र डिजिटल अधिकार समितिको संयोजन गर्नेछन्।