सिजन सुरू हुनुअघिको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सले बराबरी खेलेका छन्।
अमेरिकाको टेक्सासमा बुधबार विहान सकिएको खेलमा दुवै टिमले २-२ गोलको बराबरी खेलेका हुन्।
प्रि-सिजन भ्रमणका लागि अमेरिकामा रहेको बार्सिलोनाले खेलमा दुई पटक अग्रता लिएर पनि जोगाउन सकेन।
खेलको ३४ मिनेटमा उस्मान डेम्बेलेको गोलबाट बार्सिलोनाले खेलमा अग्रता लियो।
३९ मिनेटमा युभेन्ट्सका लागि मोइस किनले बराबरी गोल फर्काउन सफल भए।
एक मिनेटपछि बार्सिलोनाले खेलमा दोस्रो पटक अग्रता लिन सफल भयो। यसपटक पनि डेम्बेलेले नै गोल गर्न सफल भए।
पहिलो हाफमा २-१ गोलले पछि परेको युभेन्ट्सले दोस्रो हाफ सुरु भएको छैटौं मिनेटमा बराबरी गोल गर्यो। उसका लागि किनले नै दोस्रो गोल गरेका थिए।
बार्सिलोनाले अघिल्लो खेलमा रियल म्याड्रिडमाथि जित निकालेको थियो।