साफ यू-२० च्याम्पियनसिपमा बंगलादेशले लगातार दोस्रो खेलमा जित हात पारेको छ। भुवनेश्वरमा बुधबार भएको खेलमा बंगलादेशले घरेलु टिम भारतलाई २-१ गोलले पराजित गर्यो।
खेलको २९ मिनेटमा बंगलादेशले घरेलु टिमविरूद्ध अग्रता लियो। बंगलादेशका लागि पिएस अहमेदले भारतका डिफेन्डरले गरेको गल्तिको फाइदा उठाउँदै गोल गरे। भारतका डिफेन्डरले बल क्लियर गर्न नसकेपछि उनले गोल गरे।
भारतले ३५ मिनेटमा गोल फर्कायो। भारतका लागि गुरकिरत सिंहले हेडमार्फत गोल गरेका थिए।
पहिलो हाफको इन्जुरी टाइममा बंगलादेशले पेनाल्टी पायो। भारतीय खेलाडीले बंगलादेशका पिएसलाई फल गरेका थिए। त्यसपछि प्राप्त पेनाल्टीमा उनले गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए।
यसअघि पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० गोलले पराजित गरेको थियो।
प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ। नेपाली समयअनुसार साँझ सवा सात बजे नेपालले श्रीलंकासँग भिड्दैछ।
यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्समाथि ४-० को सानदार जित दर्ता गराएको थियो।