डेनमार्कमा भइरहेको डाना कपमा नेपालका दुई महिला रेफ्रीले पनि खेल सञ्चालन गरिरहेका छन्। उनीहरू नेपालबाट प्रतियोगिता सञ्चालन गर्न गत साता करिब ६५ सय किलोमिटर टाढा डेनमार्क पुगेका थिए।
नेपालका रेफ्रीद्वय लक्ष्मी श्रेष्ठ र मरिना धिमालले प्रतियोगितामा तोकिएका खेल खेलाइरहेका छन्।
‘हामीले १० वर्ष फुटबलको रेफ्री गरेका छौं र एकै समयमा रेफ्री पनि बनेका छौँ’, लक्ष्मी श्रेष्ठले डाना कपसँग कुरा गर्दै भनेकी छिन्, ‘दुवैका लागि डाना कप एकदमै नयाँ अनुभव हो।'
‘हामी यहाँ पहिले कहिल्यै आएका थिएनौं, तर यो उत्कृष्ट प्रतियोगिता हो,’ लक्ष्मीले अघि भनिन्, ‘पछिल्ला केही दिनदेखि चिसो बढेको छ, कम तापक्रम मेरो एउटा घुँडाको लागि त्यति राम्रो छैन, दुख्छ।’
यो प्रतियोगिता युवा फुटबल प्रतियोगिता हो। पुरुषमा ११ वर्षदेखि १९ वर्ष तथा महिलामा १२ वर्षदेखि १९ वर्षका खेलाडी प्रतियोगितामा सहभागी भइरहेका छन्। प्रतियोगितामा विश्वका विभिन्न देशका युवा खेलाडी सहभागी छन्।