साफ यू-२० च्याम्पियनसिपमा भारतले पहिलो जित हात पारेको छ। शुक्रबार भुवनेश्वरमा भएको खेलमा घरेलु टिम भारतले श्रीलंकालाई ४-० गोलले पराजित गर्यो।
भारतले चारै गोल दोस्रो हाफमा गरेको थियो।
जारी प्रतियोगितामा भारत पहिलो खेलमा बंगलादेशसँग २-१ गोलले पराजित भएको थियो।
श्रीलंका भने लगातार तीन खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ।
पहिलो जित हात पारेको भारतको भने फाइनल खेल्ने सम्भावना जीवित छ। भारतले अब आइतबार नेपालसँग खेल्नेछ।
नेपालले भने यसअघि लगातार दुई खेलमा जित हात पारेको थियो। नेपालले पहिलो खेलमा माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई पराजित गरेको थियो।
प्रतियोगिताको समूह चरणका शीर्ष दुई टिम फाइनलमा भिड्ने प्रावधानअनुसार नेपालले आइतबार भारतलाई हराए फाइनलमा स्थान बनाउनेछ।
भारतका लागि भने फाइनलमा स्थान बनाउन नेपाललाई हराउनु पर्ने बाध्यता हुनेछ।
तेस्रो खेलमा एकआपसमा भिडेपछि अन्तिम खेलमा नेपालले बंगलादेश र भारतले माल्दिभ्ससँग खेल्नेछन्।